दर्शकमाझ घेरिए विराज, ‘राम नाम सत्य’को सुखद् ओपनिङ

काठमाडौं । ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद् ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

शुक्रबार भन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाई छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् ।

शनिबार अभिनेता विराज भट्ट काठमाडौंका विभिन्न हलमा पुगे । काठमाडौंको अष्टनारायण हलमा १२ सय बढी दर्शकमाझ विराज घेरिएका छन् ।

अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि ५ सय सिट भएको अर्को हलमा फिल्म लगाइएको थियो । विराज पुग्दा दर्शकले हुटिङ गर्दै साथ दिएका छन् ।

उपेन्द्र शाही र स्वेता बिमलीको निर्माणमा तयार भएको यो फिल्मलाई हेरेर निक्लिएका दर्शकले सुखद् प्रतिक्रिया दिएपछि नायक विराज भट्ट पनि उत्साहित देखिए । विराजले भने, ‘मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो । तर, दर्शकले फिल्मलाई मन पराउनुभएको छ । साथै, उत्साहजनक रुपमा साथ दिनुभएको छ । यसले, हामीलाई उत्साहित बनाएको छ ।’

निर्माणपक्षले अब, नयाँ वर्षको दिनमा हलमा दर्शकको उछाल आउने अपेक्षा गरेको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि फिल्मको व्यापार सुखद रहेको वितरक कुवेर फिल्मसले बताएको छ ।

फिल्ममा विराजका साथै सुशील श्रेष्ठ, दीव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरूको अभिनय छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । फिल्मका सह–निर्माता तेजराज चटौत र दमनबहादुर चन्द सह–निर्माताको रुपमा छन् ।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।

मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेरबहादुर लामाको छायांकन छ ।

Published : Sunday, 2026 April 12, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया