बीमा बोर्डको सदस्य प्रकरणले मन्त्रीको पद गइसक्यो, बल्ल स्पष्टीकरणको पत्र पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले तीन दिनको समयसीमासहित स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको हो ।

बीमा बोर्डको सदस्य नियुक्ति र बैठकमा उपस्थितिबारे वास्तविकता के हो स्पष्टीकरण दिन भनेको छ ।

निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराएको भन्दै विवाद भएपछि मन्त्रालयले सरोकारवालापक्षलाई स्पष्टीकरण सोधेको हो ।

यही विषयलाई लिएर जुनु श्रेष्ठका श्रीमान् तत्कालीन श्रममन्त्री दीपक साहलाई सरकारले पदमुक्त गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्यामनत्री निशा मेहतालाई बीमाको सदस्य पदमा जुनु श्रेष्ठको नियुक्ति प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमनत्री वालेन्द्र शाह (बालेन)ले सचेत समेत गराइसकेका छन् ।

‘हालै स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति तथा सदस्यको बैठकमा उपस्थितिलगायत विषयमा सार्वजनिक सञ्चारमाध्यममा आएका माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको भनी उल्लेख भएको सम्बन्धमा तपाईंको संलग्नता र भूमिका रहे/नरहेको, के कति कारणले यस्तो भएको हो । सत्य तथ्य स्पष्ट खुलाई तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्नु,’ प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटालाई सोधेको स्पष्टीकरणमा मन्त्रालयले भनेको छ ।

Published : Saturday, 2026 April 11, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया