अरबौंका ठेक्का हत्याउन ई-बिडिङ ह्याक गर्ने ६ जना पक्राउ परेसँगै आशिष निर्माणका ऋषि र निर्माण फरार, पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम)मा अनधिकृत पहुँच पुर्‍याई ठेक्कका विवारण हेरफेर प्रकरणमा ६ जना पक्राउ परेका बेला थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ ।

अबैधानिक तरिकाले अरबौंका ठेक्का हत्याउने गतिविधि गरेको भन्दै सीआईबीले ठेकेदार ऋषिकेश गौली र निर्माण गौलीलाई अनुसन्धानका लागि खोजतलासी गरेको उच्च स्रोतले जनाएको छ । सीआईबी निकट स्रोतका अनुसार ऋषिकेश र निर्माणविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि ऋषिकेश र निर्माण फरार रहेको तथा खोजतलास जारी रहेको सीआईबी स्रोतले जनाएको छ ।

उनीहरूले बोलपत्र ह्याक गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अरबौंको ठेक्का लिएको अभियोग छ । ऋषिकेश गौली आशिष निर्माण सेवाका अध्यक्ष हुन् । निर्माण गौली अध्यक्ष ऋषिकेशका छोरा हुन् ।

बोलपत्र ह्याक गरी ठूला ठेक्का हत्याएका आशिष निर्माण सेवाका संचालक निर्माण गौली भने भारततिर फरार भएको आशंका प्रहरीको छ । अर्का संचालक ऋषिकेश गौली भने काठमाडौंस्थित घरमा नभएर अन्यत्र कतै आश्रय लिएको आशंका गरी नियन्त्रणमा लिन सीआईबीको टोली परिचालन भएको बुझिएको छ ।

यसरी खानेपानी, सहरी विकास मन्त्रालय, आयल निगम, विभिन्न जलविद्युत आयोजनाहरू लगायतका अर्बौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली नै ह्याक गरी लिनेमा ठूला निर्माण व्यवसायी रहेको भन्दै उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत छानबिन अगाडि बढाएको थियो ।

सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलासा भएपछि सीआईबी र साइबर व्यूरोले संयुक्तरुपमा छानबिन गरिरहेका छन् ।

ह्याकरको सहयोगमा केही निर्माण ब्यवसायीहरुले ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगाडि आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साइबर ब्यूरोलाई छानबिन गर्न पत्र पठाएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाएपछि साइबर व्यूरो र सीआईबीले संयुक्त रुपमा अनुसन्धान गर्दा ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम ह्याक गरी ठेक्का लिने कार्यमा संलग्न ६ जना निर्माण व्यवसायी पक्राउ परिसकेका छन् ।

ठेक्काका विवरण हेरफेर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटाको पाख्रिवास नगरपालिका ५ घर भएका दीवाकर देउजालाई भोटाहिटी, बझाङको दुर्गाथली गाउँपालिका ३ घर भएका भरत धामीलाई भक्तपुरको बालकोट, तनहुँको बन्दीपुर घर भएका संजय भट्टलाई गुल्मीको सत्यावती १ अस्लेवाबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका भाष्कर अर्याललाई बोहराटार, हेटौँडाका सागर कटुवाललाई कमलादी र सुनसरीको दुहबीका जीवनकुमार दासलाई दुहबीबाटै पक्राउ गरिएको चैत २५ गते सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई प्रहरीले बिभिन्न मितिमा नियन्त्रणमा लिएको जनाएको छ ।

बोलपत्र ह्याक गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायका आयोजनाका अरबौंका ठेक्का लिने ठूला ठेकेदारहरूलाई भने प्रहरीले पक्राउ गरिसकेको छैन । उनीहरूलाई पनि पक्राउ गर्न प्रहरीले खोजतलास गरेको जनाएको छ ।

Published : Saturday, 2026 April 11, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया