सर्वोच्चले अदालतहरूलाई भन्यो- २४ घण्टाभन्दा लामो समय बन्द हुन नदिने व्यवस्था मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन निर्देशन दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयानुसार उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, श्रम अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायत सबै न्यायिक निकायलाई निर्देशन दिएको हो ।

सर्वोच्चले अदालतहरू २४ घण्टाभन्दा लामो समय बन्द हुन नदिने गरी व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

सर्वोच्चले उक्त संवैधानिक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका सबै अदालतहरूलाई परिपत्र जारी गर्दै निर्देशन दिएको हो ।

परिपत्रमा नेपालको संविधानको धारा २० (३) अनुसार पक्राउ गरिएको व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने र आदेशबिना थुनामा राख्न नपाइने व्यवस्था स्मरण गराइएको छ ।

सर्वोच्च अदालत नियमावली, २०७४ मा गरिएको संशोधन तथा नेपाल सरकारको सूचनानुसार अब हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने व्यवस्था लागू भएको सन्दर्भमा अदालतको कामकारबाहीमा असर नपरोस् भन्ने उद्देश्यले निर्णय गरिएको जनाइएको छ ।

परिपत्रमा २४ घण्टाभन्दा लामो बिदा परेको अवस्थामा पनि पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति तथा हिरासतमा राख्ने अनुमतिसम्बन्धी मुद्दा हेर्न आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

सर्वोच्चले बिदाका समयमा पनि आवश्यक न्यायिक सेवा सञ्चालनका लागि ‘बिदाको समयमा अदालत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५’ अनुसार व्यवस्था मिलाउन मातहत अदालतहरूलाई निर्देशन दिएको छ ।

Published : Friday, 2026 April 10, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया