पूर्वअर्थमन्त्रीसहित २९ जनाविरुद्ध अख्तियारद्वारा साढे ७ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासहित २९ जनामाथि सुन तस्करी प्रकरणमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बिहीबार अख्तियारले पूर्वसभामुख महरासहितका व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । महरासहितका प्रतिवादीहरूविद्ध अख्तियारले साढे ७ करोड बिगो कायम गरेको जनाएको छ ।

महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा छ ।

प्रमुख भन्सार प्रशासन अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेलमाथि मुद्दा चलाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले महरासहित उनका छोरा राहुल, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दीपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा चलाएको छ ।

प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङविरुद्ध मुद्दा चलाएको अख्तियारले जनाएको छ । डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि माथि पनि अख्तियारले मुद्दा चलाएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले २ वटा सुटकेस ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) थियो । सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप छ ।

शंकास्पद देखिएको मालवस्तुको भौतिक रूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप छ ।

बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरूसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको छ ।

शंकास्पद वस्तु करिब १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाउँमा सारेको आरोप लगाएको छ ।

अख्तियारले आठ किलो ४८० ग्राम सुन तस्करीमा भूमिका खेलेको भन्दै उनीहरूमाथि सात करोड ७८ लाख ६८ हजार रुपियाँ हिनामिना गरेको आरोप लगाएको छ ।

अख्तियारले भन्सारका कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ । पूर्वसभामुख महरा, उनका छोरा राहुल लगायतमाथि मतियारको आरोप लगाएको छ ।

तीन वर्षअघिको सुन तस्करीसँग जोडिएको प्रकरणमा अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सुन तस्करी प्रकरणको प्रारम्भिक छानबिन र अनुसन्धानमा लापरबाही र मिलेमतो आरोपमा संलग्न कर्मचारीको हकमा एकमुष्ट असुल हुने गरी बिगोबमोजिम जरिवाना तथा कैद सजाय हुनुपर्ने दाबी गरेको छ । सुन तस्करीमा जोडिएका पूर्वसभामुखसहित अन्यको हकमा पनि एकमुष्ट बिगो दाबी गरिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेशप्रसाद कोइराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेलविरुद्ध एकमुष्ट ७ करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

यही प्रकरणमा पूर्वसभामुख महरासहित राहुल भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दीपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, नीमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङसङ र दाओजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेस्कटर ट्राभल्स एन्ड टुर्स प्रालिलाई ७ करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ बिगो दाबी गरिएको छ ।

Published : Thursday, 2026 April 9, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया