सीमामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्नुस् : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकको अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालबाट आईजीपी कार्कीले मातहतलाई निर्देशन दिँदै भने, ‘नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुहोस् ।’

कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानूनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

उनले बिचौलिया रहित, कानून सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी गराउन आईजीपी कार्कीले निर्देशन दिएका छन् ।

शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानूनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्ने उनले बताए ।

उनले बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिएका छन् । आईजीपी कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

Published : Wednesday, 2026 April 8, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया