म र मेरो परिवारबारे सम्पत्ति सम्बन्धि भ्रामक र झुटा प्रचारबाजी भयो, बास्तविकता खुल्दै जानेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै चिन्ता जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गरेर देउवाले भने, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’

सभापति देउवाले समयक्रमसँगै बास्तविकता खुल्दै जाने बताएका छन् । उनले भने, ‘बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु ।’

सभापति देउवाले आफू र परिवारका सदस्य स्वास्थ्य उपचारका लागि विदेश आएको भन्दै अझै केही समय उपचारका क्रममा रहने बताएका छन् । ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ सभापति देउवाले भने ।

‘आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरू, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धि अनुसन्धान शुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ,’ देउवाले भने ।

सभापति देउवाले भने, ‘नेपालको कानून अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’

‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ,’ सभापति देउवा ।

सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।’

‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,’ देउवाले भने ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने भन्दै सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएका समाचारहरू प्रकाशित भएपछि देउवाले त्यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

Published : Wednesday, 2026 April 8, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया