वाटर स्पोर्टस् गृहमन्त्री, फेलाताल किनारमा मापदण्डभित्र पर्ने २० रोपनी जमीन फेला

काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले सर्वोच्चको आदेशअनुसार मापदण्डभित्र पर्ने जग्गा खाली गर्ने अभियान थालेको छ । गृहमन्त्री गुरुङको नाममा २० रोपनी जमीन फेला परेपछि खैलाबैला भएको छ ।

गृहमन्त्रीको शपथ लिएकै अर्को दिन केपी ओलीसहितका उच्च व्यक्तिहरूलाई पक्राउ गरेर भाइरल बनेका गुरुङकै नाममा अतिक्रमित जमीन भेटिएपछि गम्भीर प्रश्न उठेको छ ।

जमीन भेटिएको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गृहमन्त्री गुरुङसँग छलफल गरिसकेका छन् । मेयर आचार्यका अनुसार तालको उत्तरी क्षेत्रमा रहेको जंगल छेउमा गृहमन्त्री गुरुङका नाममा जग्गा भेटिएको हो ।

त्यो जग्गा पनि मापदण्डभित्रै पर्ने हुँदा मुआब्जा दिन नमिल्ने आचार्यले बताएका छन् । मेयर आचार्यले भने, ‘अन्य मन्त्री पनि हुनुहुन्थ्यो, गृहमन्त्रीज्यूको जग्गा रहेको विषयमा कुराकानी भएको हो । जग्गा कति भन्ने एकिन भइसकेको छैन ।’

आचार्यले नक्सा हेर्ने सन्दर्भमा जग्गाको विषयमा कुराकानी भएको र मन्त्रीलाई आफूले ‘मुआब्जा नपाउने जग्गा भएको’ स्पष्ट बताइदिएको जानकारी दिए ।

उनले १५ दिनभित्रै सबै कित्ता छुट्टाउने तयारी भएकाले त्यसपछि मात्रै कति भन्ने थाहा हुने बताए ।

गृहमन्त्री गुरुङले मेयर आचार्यले फोन गरेर ‘मेरो जग्गा पनि तालमै प¥यो कि क्या हो ?’ भनेर सोधेका छन् । जवाफमा मेयर आचार्यले जवाफमा गृहमन्त्री गुरुङलाई भने, ‘हो भनेँ । उहाँले तालमा परे पनि खाली गर्नू भन्नुभएको छ ।’

यसैबीच, गृहमन्त्री गुरुङले पोखराको फेवातालमा क्रुजसहित पानीमा खेल्न सकिने विभिन्न खेलका गतिविधि चलाउन प्रस्ताव पेस गरेको भेटिएको छ ।

गुरूङले पोखराकै अतिथि रिसोर्टसँग मिलेर वाटर स्पोट्र्स सञ्चालन गर्न प्रस्ताव पेस गरेको पोखरा महानगर निकट स्रोतले जनाएको छ । प्रस्तावलाई गुरुङसहितको टोलीले पावर प्वाइन्ट प्रिजेन्टेसन गरेर फेवाताल आफूहरूलाई दिए वाटर स्पोर्टस् सञ्चालन गर्ने बताएको जनाइएको छ ।

पोखरा महानगरले २०७५ सालमा फेवाताल र बेगनास तालमा सार्वजनिक–निजी साझेदारीमा वाटर स्पोर्टस् सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको थियो ।

फेवातालमा क्रुज चलाउने लगायत करिब ७५ वटा विभिन्न खेलका गतिविधि त्यसमा समावेश थिए । रातको समय पनि फेवातालको पानीमा विभिन्न खेल खेल्ने योजना प्रस्तावमा पेस गरिएको थियो ।

त्यही बेला फेवाताल पारिपट्टी जग्गा लिएर सुधनले केही नयाँ काम गर्न खोजेको देखेपछि चिनजान भएको र कुराकानी क्रममा उक्त योजना बनेको बताइएको छ ।

Published : Sunday, 2026 April 5, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया