अख्तियारद्वार पतञ्जलि जग्गा घोटाला काण्डका योजनाकार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा घोटाला काण्डका योजनाकार शालिग्राम सिंहविरुद्ध विशेष अदालत, काठमाडौंमा दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले सिंहविरुद्ध दुई फरक कसूरमा कुल एक करोड १० लाख बिगो कायम गरेर मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आर्थिक वर्ष ०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा रकम हिनामिना गरेको अख्तियारको दाबी छ । खरिद गर्दा सिंह परिषदका अध्यक्ष थिए ।

ठेकेदारसँग मिलेमतो गरेर खरिदमा हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सिंह पतञ्जलि जग्गा खरिद काण्डका योजनाकार हुन् ।

पतञ्जलि योगपीठका लागि काभ्रेपलाञ्चोकमा हदबन्दीभन्दा बढी जग्गा खरिद, बिक्री र सट्टाभर्ना गरेर भ्रष्टाचार गरेको आरोपमा सिंहविरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले गत २२ जेठमा मुद्दा दायर गरेकामा सिंह पनि प्रतिवादी थिए । पतञ्जलिको योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र कम्पनीको मुख्य भई कामकाज गर्ने सिंहलाई अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो र १० देखि १४ वर्षसम्म कैद सजायको दाबी गरेको छ ।

आइतबार अख्तियारले दायर गरेको पहिलो मुद्दामा सिंहविरुद्ध ५५ लाख दुई हजार ८५४ रुपियाँ बिगो दाबी गरिएको छ । मुद्दामा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी र इसिता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठक प्रतिवादी छन् ।

३३ लाख ५० हजार ९८६ रुपियाँ रकम कायम गरी आपूर्तिकर्ता भारतीय कम्पनी टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसनसँग खरिद प्रक्रिया अवलम्बन गरेको अवस्थामा इसिता ट्रेडससँग ५५ लाख दुई हजार ८५४ रुपियाँमा सम्झौता गरिएको थियो ।

सार्वजनिक खरिद ऐनबमोजिम स्पेसिफिकेसन, लागत अनुमान र खरिद योजनासमेत तयार नगरी खरिद गरिएको अख्तियारले जनाएको छ ।

इसिता ट्रेडर्ससँग पूर्वसहमतिबमोजिम दररेट माग गरेकामा भारतीय कम्पनी टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसनको झुट्टा र गलत अथोराइजेसन सर्टिफिकेटसमेत संलग्न गरी दररेट पेस गरेर बोलपत्र आह्वान नै नगरी इसिता ट्रेडर्ससँगै खरिद सम्झौता गरिएको थियो ।

भुक्तानीको ठुलो अंश भारतीय कम्पनी टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसनलाई दिई इसिता ट्रेडर्सबाट मालसामान आपूर्ति नगरी भारतीय कम्पनीबाट सामान आपूर्ति गरेर हिनामिना गरेको अख्तियारले जनाएको छ ।

परिषदले नै सोही आवमा ५० थान पोर्टेबल शौचालय खरिद गर्दा हिनामिना गरेको आरोपमा अख्तियारले अर्को मुद्दा पनि दायर गरेको छ । ५५ लाख मूल्यको पोर्टेबल शौचालय अमानतमा खरिद गर्ने निर्णय गरेको, स्पेसिफिकेसन र लागत अनुमान नै तयारी नगरेको, गलत लिखत तयार गरेकोलगायतका आरोप अख्तियारले लगाएको छ ।

मुद्दामा अख्तियारले सिंहविरुद्ध ५४ लाख ९९ हजार ९९९ रुपियाँ बिगो दाबी गरेको छ । मुद्दामा परिषदका तत्कालीन कार्यकारी निर्देशक ठाकुर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना, तत्कालीन लेखा अधिकृत गिरी र इसिता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठकलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।

Published : Sunday, 2026 April 5, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया