दिदीबहिनीहरूद्वारा नौमती बाजा जगेर्ना गर्न गरेको प्रयासमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सीप र कलाले मानिसलाई परिस्कृत बनाउने बताएका छन् ।

शनिबार हेटौंडा उपमहानगरपालिका वडा नं. १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको नौमती बाजा बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सीप र तालिम मार्फत महिलाहरूको आर्थिक पक्ष सुधार हुने बताए ।

नौमती बाजा जगेर्ना गर्न प्रदेश सरकार लागि रहेको अवस्थामा पदमपोखरीमा महिला दिदीबहिनीले जुन किसिमले बाजा बजाउने तालिम लिएको भन्दै उनले त्यसलाई आगामी दिनमा निरन्तरता दिन सरकारले आवश्यक सहयोग गर्ने बताए ।

सहकारीमार्फत महिलाहरूमा नेतृत्व र व्यक्तित्व विकास हुनुका साथै विभिन्न तालिम र सीपले आत्मनिर्भरमा समेत उल्लेख्य टेवा पुगेको मुख्यमन्त्री बानियाँले बताए ।

कला क्षेत्र आम्दानीको स्रोत हो, बाजासँगै नृत्य र गायनलाई पनि सँगै लैजानु पर्ने उनले बताए ।

विभिन्न सभा सम्मेलन कार्यक्रममा अनिवार्य पञ्चेबाजा बजाउने गरियो भने कला संस्कृति जगेर्नामा थप टेवा पुग्ने मुख्यमन्त्री बानियाँले बताएका छन् ।

सहकारीले स्वरोजगारमूलक तालिम प्रदान गर्दै आइरहेकोले वडा र नगरपालिकाबाट हुने समन्वय र सहकार्य आगामी दिनहरूमा पनि रहने वडा १३ का वडाध्यक्ष पेम्बा लामाले बताए ।

बाजा बजाउन गाह्रो छ, जति धेरै प्रयोग गरे उतिकै सहजता हुँदै जाने उनले बताए । ‘अहिले सामान्य बजाउन सिक्नुभयो, आगामी दिनहरूमा बजाउँदै जाँदा निखारता रहनेछ,’ वडाध्यक्ष लामाले बताए ।

तालिममा सहभागी लक्ष्मी ओझाले १५ दिनको तालिम अपुग रहेकाले करिब एडभान्स तालिम आवश्यक रहेको बताइन् । ‘हाम्रो टिमले थप तालिम लिन पाए अझ सशक्त भएर अघि बढ्नेछ,’ उनले भनेकी छिन् ।

संस्थाकी अध्यक्ष मीना थापाको अध्यक्षता तथा मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख महेन्द्र चापागाईं, संस्थाका पूर्व अध्यक्ष लक्ष्मी थिङ, लेखा समिति संयोजक विष्णुमाया लामा, सिन्धुली कला घरका प्रशिक्षक सञ्चिता थापा मगर, पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, संस्थाका उपाध्यक्ष दीपा लामालगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । १५ दिन सञ्चालित तालिममा सहकारीका ३० जनाको सहभागिता रहेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताइन् । तालिम चैत्र ७ गतेबाट शुरु भएको थियो ।

Published : Saturday, 2026 April 4, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया