किशोरीले प्रेमी फेरेपछि देउखुरीमा स्मित प्रधानको हत्या, २४ घण्टाभित्रै अभियुक्तहरू गिरफ्तार

मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले देउखुरीमा स्मित प्रधानको हत्या अभियोगमा ३ जना अभियुक्तहरूलाई वारदातमा प्रयोग भएका हतियार तथा सामग्रीहरूसहित गिरफ्ता गरेको छ ।

शनिबार बिहान ०२ः०० बजे प्रहरीको टोलीले प्रधानको हत्या अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले वारदातमा संलग्न दाङको बंगलाचुली गाउँपालिका– ८ घर भई हाल राप्ती गाउँपालिका– ४ श्रीनारायण चोक बस्ने वर्ष २० का सन्दीप वली, राप्ती गाउँपालिका– ४ मौरीघाट बस्ने वर्ष १८ का निश्चल चौधरी र कानूनको विवादमा परेकी बालिका परिवर्तित नाम २६ भालुवाङ ३७ (२०८२/०८३)लाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्न बालिकाको नामलाई प्रहरीले गोप्य राखेको छ । प्रहरीले २४ घण्टाभित्र स्मित प्रधान हत्याको घटनामा संलग्न अभियुक्तहरूलाई गिरफ्तार गरेर फत्ते गरेको छ ।

वारदातस्थलबाट प्रहरीले ढुङ्गा थान १, चक्कु थान १ र बासको टुक्रा थान १, प्लाष्टिकको डोरी थान १, चस्मा थान १, टाबेलको टुक्रा थान २, मोबाइल थान–४ बरामद भएको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राप्ती गाउँपालिका ४ मौरीघाट, दोलाइ खोलामा राप्ती गाउँपालिका– २ बस्ने आयुष्मान थापा मगरको शरीरको बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए । आयुष्मानको राप्ती आधारभुत अस्पताल, सिसहनियाँमा उपचार भइरहेको बेला उनका साथी स्मित प्रधान घरपरिवारको सम्पर्कमा नरहेको भनि आयुष्मानकी दिदी रमिता खाम्चा मगरले प्रहरीलाई सूचना दिएकी थिइन् ।

सूचना पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी निरीक्षक ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले घाइते आयुष्मानलाई भेटेर घटनाको बारेमा जानकारी लिएका थिए ।

स्मित प्रधानको खोजतलास गर्ने क्रममा शुक्रबार मध्यान्ह १२ः०० बजेको समयमा उनको शव राप्ती गाउँपालिका– ४ मौरीघाट, दोलाई खोलास्थित नहरकुलाको पक्की नालामा शरीरको बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि मृतक अवस्थामा फेला परेका थिए । उक्त वारदातको अनुसन्धानपछि संग्लन व्यक्तिहरूको पहिचान गरि आइतबार बिहान ०२ः०० बजेको समयमा ३ अभियुक्तहरूलाई वारदातमा प्रयोग भएका भौतिक सबुदहरू नियन्त्रणमा लिइएको थियो ।

किशोरीले प्रेमी परिवर्तन गरेपछि स्मित प्रधानको हत्या भएको हुन सक्ने अनुसन्धानका क्रममा प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । ती किशोरी र स्मित प्रधानबीच सम्बन्ध रहेको खुलेको छ । किशोरीले अर्को प्रेमी बनाएपछि असैह्य भएर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि घटनाको अनुसन्धान जारी रहेका कारण प्रहरीले केही बताउन चाहेको छैन ।

उक्त घटनामा घाइते भएका आयुष्मान थापा मगरलाई राप्ती आधारभुत अस्पताल, सिसहनियाँमा सामान्य उपचार पश्चात थप उपचारको लागि शुक्रबार राति २१ः३० बजेको समयमा भैरहवा मेडिकल कलेज, रुपन्देही पठाइएको थियो । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Published : Saturday, 2026 April 4, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया