शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ, छोरा सुलभको राहदानी रोक्का

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको जनाइएको छ ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएको छ । अग्रवाललाई जिल्ला प्रहरी परीसर, ललितपुरको हिरासतमा राखिएको ललितपुर प्रहरीका एसपी गौतम मिश्रले बताए ।

यसअघि, व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् । शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानमा तानिएका छन् ।

अग्रवाल शंकर ग्रुपका संस्थापक अध्यक्ष हुन् । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना मानिन्छ । मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।

यो समूहले पछिल्ला वर्षहरुमा अर्का विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीमा धेरै व्यवसाय सञ्चालन गर्दै आएको छ ।

यसैबीच, सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो ।

विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं. ११७७०६७४ र बीए ००१०३०९ रोक्का गरिएको छ ।

पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुन् सुलभ अग्रवाल ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको माग र जारी अनुसन्धानको सिलसिलामा उनी विदेश फरार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रामा प्रतिबन्ध लगाइएको हो ।

यसअघि पनि शंकर ग्रुपका सुलभ अग्रवाल कोभिड–१९ महामारीको समयमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अहिले फेरि दीपक भट्ट प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्दामा उनको संलग्नता देखिएको छ ।

Published : Saturday, 2026 April 4, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया