प्रधानमन्त्री शाहले मागे सांसद डा.रेग्मीसँग स्याङ्जा १ को विकासका प्राथमिकतासहितको सुझावहरू

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्याङ्जा क्षेत्र नं. १ का सांसद डा.धनञ्जय रेग्मीले प्राथमिक विकास आवश्यकताको सूची प्रस्तुत गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गण्डकी प्रदेशका निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले स्याङ्जा १ को विकास आयोजना र समस्याहरूबारे प्राथमिकताका आधारमा डा.रेग्मीसँग सुझाव माग गरेका हुन् ।

डा.रेग्मीले जनताको अपेक्षा र आवश्यकताहरू धेरै रहेको भन्दै सम्पूर्ण माग पूरा गर्नका लागि मात्र पनि देशको एक वर्षको सम्पूर्ण बजेट पर्याप्त नहुन सक्ने बताएका छन् । उनले भने, ‘त्यसैले अब आवश्यकतालाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने देखिन्छ ।’

डा.रेग्मीले भने, ‘सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा अन्तरजिल्ला सडक सञ्जाल भैरहवा–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग देशको आर्थिक मेरुदण्डका रूपमा रहेको छ । तर, निर्माण भएको लामो समय बितिसक्दा पनि यसको पर्याप्त स्तरोन्नति हुन सकेको छैन । अहिले यो सडक अत्यन्त जीर्ण अवस्थामा पुगेको छ ।’

धेरै स्थानमा खाल्डाखुल्डी रहेको भन्दै डा.रेग्मीले कतिपय ठाउँमा पहिरो तथा ढुङ्गा खस्ने समस्या रहेको बताए । उनले सडक साँघुरो भएकाले दुर्घटनाको जोखिम बढेको, यात्रु र व्यवसायी दुवैलाई ठूलो समस्या परेको बताएका छन् । यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन आवश्यक रहेको डा.रेग्मीले बताएका छन् ।

सांसद डा.रेग्मीले स्याङ्जा १ र वरपरका जिल्लाहरूलाई जोड्ने मुख्य सडकहरूलाई पनि प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । ‘मिर्मीदेखि भीमादसम्मको सडक करिब ३० किलोमिटर लामो रहेको छ, जुन धेरै वर्षअघि नै खनिएको भए पनि अझै स्तरोन्नति हुन सकेको छैन,’ डा.रेग्मीले भने, ‘यसले स्याङ्जा र तनहुँलाई जोड्छ र त्यस क्षेत्रका कृषक तथा स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुर्याउन सक्छ । यस सडकलाई तत्काल कालोपत्रे वा कम्तीमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ ।’

‘ज्याग्दी क्षेत्रको करिब ५५ किलोमिटर सडक लामो समयदेखि अधुरो अवस्थामा रहेको छ । यो सडक निर्माण तथा स्तरोन्नतिका लागि यसै वर्षदेखि पर्याप्त बजेट छुट्याउन आवश्यक छ,’ उनले भने ।

‘स्याङ्जा र पर्वत जिल्ला जोड्ने अर्जुनचौपारीदेखि पर्वतसम्मको करिब १७–१८ किलोमिटर सडक अझै राम्रो अवस्थामा छैन,’ उनले भने, ‘पोखरासँग स्याङ्जालाई छोटो दूरीमा जोड्ने एउटा सडकको आधा भाग निर्माण भइसकेको छभने बाँकी करिब ५ किलोमिटर भाग अधुरो अवस्थामा छ । यो सानो दूरी भए पनि यसको ठूलो आर्थिक र पर्यटन महत्व छ ।’

सांसद डा.रेग्मीले आफ्नो क्षेत्रमा कम्तीमा पाँचवटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न आवश्यक रहेको प्रधानमन्त्री शाहसँग आग्रह गरेका छन् ।

‘गाउँगाउँमा पुग्दा सबैभन्दा गम्भीर समस्या खानेपानीको देखियो । विशेष गरी दलित तथा पिछडिएका बस्तीहरू अझै पनि खानेपानीबाट वञ्चित छन्,’ उनले भने, ‘कतै धारा बनेको छ तर पानी पुगेको छैन । कतै ट्याङ्की बनेको छ तर, पाइपलाइन छैन । कतै अपलिफ्ट प्रणाली बनाइएको छ तर, ट्याङ्की फुटेको छ ।’

सांसद डा.रेग्मीले कतिपय योजना स्थानीय, प्रदेश र संघीय सरकारबीच अलमल भएर अधुरै रहेको बताएका छन् । उनले आगामी बजेटमा अपलिफ्ट खानेपानी तथा मुहान संरक्षण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्न माग गरेका छन् ।

डा.रेग्मीले कोल्ड स्टोरेज निर्माणको माग पनि गरेका छन् । उनले भने, ‘कोल्ड स्टोरेज निर्माण गर्न सकियो भने अहिले करिब रु. १ अर्ब ३२ करोड बराबरको सुन्तला उत्पादनलाई बढाएर रु. ३ अर्बसम्म पु¥याउन सकिन्छ ।’

डा.रेग्मीले भारतीय सेनाका भुतपूर्व सैनिकका परिवारहरूलाई पेन्सन प्राप्त गर्न कागजपत्रले समस्या रहेको बताए । उनले त्यसका लागि आवश्यक समन्वय गरेर जानुपर्ने बताए ।

‘अहिले नेपालमा कुल रेमिटेन्स करिब रु. १.५३ ट्रिलियन रहेको छ । त्यसमा भारतीय सेनाबाट पेन्सन र अन्य माध्यमबाट आउने रकम करिब रु. ४०० अर्ब बराबर रहेको अनुमान छ,’ उनले भने, ‘अर्थात् नेपालको कुल रेमिटेन्सको करिब २५ प्रतिशत हिस्सा भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली तथा उनीहरूको परिवारबाट आएको देखिन्छ ।’

यदि अहिले वञ्चित रहेका १२ हजार महिलालाई पनि पेन्सन दिलाउन सकियो भने यसले हजारौँ परिवारलाई राहत दिनुका साथै देशको अर्थतन्त्रमा समेत थप योगदान पुग्ने उनले बताएका छन् ।

डा.रेग्मीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमन गर्ने र सञ्चालन गर्ने एउटै निकायको रूपमा राख्दा समस्या आएको बताएका छन् ।

‘एउटै महानिर्देशकले नियमन र सञ्चालन दुवै गर्दा पारदर्शिता र उत्तरदायित्व कमजोर भएको छ,’ सांसद डा.रेग्मीले भने, ‘एउटा नियामक संस्था, अर्को विमानस्थल सञ्चालन तथा सेवा प्रदायक संस्था अलग गर्न आवश्यक छ ।’

उनले नेपाल एयरलाइन्स आज करिब रु. ५३ अर्ब घाटामा रहेको बताए । ‘हरेक वर्ष २–३ अर्ब घाटा थपिँदै गएको छ । यसरी चलिरहँदा नेपाल एयरलाइन्सलाई जोगाउन सकिँदैन,’ उनले भने ।

Published : Friday, 2026 April 3, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया