रास्वपालाई दुईतिहाई जिताउन विशेष पक्षधरहरूले कांग्रेसमा विवाद गराए : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनाव जिताउन कांग्रेसमा विवाद झिकिएको बताएका छन् ।

बुधबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले भृकुटीमण्डप भेलाको कथित विशेष महाधिवेशनले रास्वपा जिताउन पार्टीभित्र विवाद झिकेको बताए । उनले गगनकुमार थापासहितका नेताहरूले कांग्रेसभित्र विवाद झिकेर रास्वपालाई दुईतिहाई नजिक पुर्‍याएको बताए ।

आधिकारिक कांग्रेस शेरबहादुर देउवा नेतृत्वमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै रहेको खड्काले बताएका छन् । उनले भने, ‘आधिकारिक कांग्रेस हामी नै हौं र, अहिलेको समस्याको समाधान हामीले नै गर्ने हो ।’

कार्यबाहक सभापति खड्काले अदालतबाट जेसुकै फैसला भएपनि वैधानिक कांग्रेस आफू नै भएको बताए । इकाईदेखि पालिका, क्षेत्र, जिल्ला र प्रदेशसम्म पनि १४ औँ महाधिवेशनबाटै निर्वाचित कार्यसमितिहरू क्रियाशील रहेको उनले बताए ।

‘अब हामीले चुनावी कुरा नगरी अब सबैलाई एक बनाएर जानुछ, किनभने हामीले कांग्रेस एक पनि बनाउनु छ,’ उनले भने, ‘कांग्रेसले जे–जे कुरालाई आफ्नो मूल्यमान्यता मान्थ्यो र देशले लोकतन्त्र मानेको छ, त्यो अहिले डिलमा पुगेको छ । त्यो फर्काउने जिम्मा कांग्रेसलाई नै छ ।’ उनले वृहत् एकता जरुरी रहेको बताएका छन् ।

उनले आफूहरूले पाउनुपर्ने जति पाइसकेको बताउँदै अब पार्टीमा लागेका युवाहरूका लागि बलियो कांग्रेस बनाउन आफू कुनै कसर बाँकी नराख्ने बताए ।

कांग्रेसलाई छिन्नभिन्न नपारेको भए आफ्नो रणनीति सफल नहुने देखेर एउटा गिरोह नै लागेर यो काम गरेको उनले बताए । खड्काले भने, ‘कांग्रेसलाई त्यो ठाउँमा नपु¥याउन्जेलसम्म रास्वपाको दुईतिहाइ आउने थिएन, त्यसैले यो सबै काम नियोजित हो ।’

कार्यबाहक सभापति खड्काले कांग्रेसलाई थप कमजोर गराउन अझै प्रयत्न भइरहेको बताए ।

नेता डा.शेखर कोइरालाले नेपाललाई सक्न केही शक्तिहरू लागेको र त्यसमा कांग्रेसका केही नेताहरू प्रयोग भएको बताए । उनले प्रयोग हुने नेताहरू केही विशेष महाधिवेशन पक्षधर र केही नियमित महाधिवेशन पक्षधर रहेको पनि आरोप लगाए ।

पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरू निर्वाचनमा लड्न गए पनि गगन थापालाई सभापति नमानेको बताए । विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको र अहिले विचाराधीन रहेको रिट आफ्नो पक्षमा पार्न पहल गर्ने बैठकमा नेताहरूले बताए ।

केन्द्रीय सदस्य सीता गुरूङले दुवै पक्षले आ–आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताएकी छन् ।

चुनावबाट कांग्रेस पछारिइसकेको भन्दै उनले अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिइन् । दुवै समूहले आ–आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउनका लागि संवादहीनता तोड्नुपर्ने बताएकी छिन् ।

केन्द्रीय सदस्य गुरुङले पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ सोही निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘कांग्रेस पछारिनु पछारिसक्यो । कांग्रेसले सिक्नुपर्ने सबै सिकी पनि सक्यो । अब उठ्ने कुरा गरौं । उठाउनका लागि दुई समूहबीच देखिएको संवादहिनता तोडौं । आ–आफ्नो अहंकार पनि छाडौं । दुवै पक्षले त्यो त्याग गरौँ । अनि पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ त्यो निर्णय अनुसार अघि बढौं ।’

केन्द्रीय सदस्य शिव हुमागाईंले नियमित कि विशेष महाधिवेशन भनेर विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यस्तै हुने बताएका छन् ।

उनले भने, ‘विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावमा गएपश्चात् आउने रिजल्ट यहीँ नै थियो । हाम्रो गन्तव्य स्पष्ट पार्नुपर्छ । के उद्देश्य राखेर कहाँ पुग्ने गन्तव्य हो ?’

कार्यकर्ता पङ्तिमा निराशा रहेको बताउँदै अहिले नेताको कुरा कसैले सुन्ने अवस्था नरहेको उनले बताए । ‘अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ भने मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।’

Published : Wednesday, 2026 April 1, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया