फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किराँत राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो ।

किराँत राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो ।

बदलिँदो परिस्थितिमा किराँती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले मार्मिक रूपमा चित्रण गरेको छ । विशेषगरी किराँती समुदायमा ‘नाक्छोङ’ (बिजुवा)को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य फिल्मले राखेको छ ।

शो जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा आयोजना हुन लागेको निर्माता ज्योतिराज राईले बताए । फिल्मका निर्देशक किरण राई हुन् । जसले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्मको लेखन पनि किरण राईकै रहेको छ । निर्माता ज्योतिराज राईका अनुसार फिल्म निर्माणको मुख्य उद्देश्य किराँती परम्परा जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्नु हो ।

फिल्ममा भुवनसिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई, उदय सुब्बा कुरुङबाङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई लगायतका कलाकारहरूको सशक्त अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा राजन मुकारुङ र विष्णु किराँतीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिलकोई राईको संगीत छ । फिल्मका निर्माता ज्योतीराज राईले यसअघि ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता चर्चित फिल्म र टिभी सिरिजहरू निर्माण गरिसकेका छन् । हङकङ प्रदर्शनका लागि दिलिप राईलाई सल्लाहकार चयन गरिएको छ भने राम ली थुलुङ यो कार्यक्रम को संयोजक रहनु भएको छ भने गजेन्द्र राई, भुपाल चाम्लिङ, धिरज बान्तवा, दीपककेशर साम्पाङ, दिनेश थुलुङ, प्रकाश कोयी, लोकराज बायुङ, इमानशेर राई लगायतका कार्यसमितिका पदाधिकारीहरू सम्पर्क सूत्रका रूपमा रही कार्यक्रम सफल बनाउन लागि परिरहेका छन् ।

नेपालमा भने यसको सार्वजनिक प्रदर्शन मिति तय भएको छैन । सार्वजनिक प्रदर्शन अघि फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । हङकङमा हुन लागेको यो प्रदर्शनीलाई किराँती समुदायले आफ्नो पहिचान र संस्कृति संरक्षणको एउटा महत्वपूर्ण कडीका रूपमा लिएको छ ।

Published : Wednesday, 2026 April 1, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया