सांसदहरूलाई धम्की र मिडिया ट्रायल नगर्न गगन समूहलाई चेतावनी, अदालतको फैसलापछि उपयुक्त कदम उठाउने
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डप भेलाबाट आएको नेतृत्वले समानुपातिक सांसद सिफारिसमा कानून विपरीतका क्रियाकलाप गर्नुका साथै सांसदहरूलाई धम्की दिने कार्य गरेको जनाएका छन् ।
मंगलबार काठमाडौंको धुम्बाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले भृकुटीमण्डप भेलाबाट आएकाहरूले समानुपातिक सूचीमा अन्याय गरेको बताए । गगन थापा समूहले सांसदहरूलाई धम्काउने, मनोवैज्ञानिक त्रास दिने, मिडिया ट्रायल जस्ता कार्य गरेको भन्दै कार्यबाहक सभापति खड्काले आपत्ति जनाएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ८३ जना पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको केन्द्रीय सदस्य मानबहादुर नेपालीले बताएका छन् । बैठक भोलि बुधबार पनि बस्नेछ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । धारणा राख्ने अधिकांश नेताहरूले कांग्रेसको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएपछि मात्रै कसरी जानेभन्ने तयारी गर्नुपर्ने कुरा राखेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा करीव १५ जनाले आफ्नो धारणा राखेको उनले बताएका छन् । ‘विशेष महाधिवेशनका नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिको बैधता दिएको पार्टीको सभापति गगनकुमार थापाज्यूले हामीले निर्वाचनपछि सर्वोच्च अदालतले फैसला नगरुञ्जेलसम्मका लागि पार्टीको आन्तरिक विषयलाई हामीले स्थगन राखेका थियौं ।’
‘उहाँ (गगन थापा)हरू सम्वेदनशील हुन सक्नु भएन । र, विषयलाई गम्भीरताका साथ उहाँहरूले लिन सक्नु भएन । वार्ता, सम्वाद, सहमतिको कुनै प्रयासहरू अहिले भएको छैन,’ केन्द्रीय सदस्य नेपालीले भने ।
नेता नेपालीले भने, ‘उहाँ (गगन थापा)हरू जुन शक्तिले जहाँबाट जसरी उहाँहरू जसरी परिचालित हुनुभएको छ, जुन ईशाराबाट उहाँहरूले कामहरू गरिरहनुभएको छ, हाम्रा सामुमा दुइटा मात्रै बिकल्पहरू छन् ।’
नेपालीले भने, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जोसँग १२३ केन्द्रीय सदस्यहरू उहाँको पक्षमा थिए । आज पनि उहाँहरू हुनुहुन्छ । उहाँहरूले मान्यता प्राप्त गरेको अवस्थामा हामीले हिजो १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका साथीहरू, पार्टीका नेताहरूलाई अत्यन्तै सम्मान, मर्यादा, इज्जतका साथ पार्टीलाई व्यवस्थापन गरेर पार्टीलाई हामीले १५औं महाधिवेशनमा लगेर जाने हो । उहाँहरूले बीचको समयलाई उहाँहरूले फेरि पनि लापरबाही गर्नुभयो, फेरि पनि बल मिच्याइँ गर्नुभयो, फेरि पनि समझदारी नगरेर अगाडि बढ्ने उहाँहरूले कोशिश गर्नुभयो भने हाम्रो सामुमा के हुन्छ भने हामी आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने निष्कर्षमा छौँ अहिलेसम्म । पार्टीमा धारणाहरू विभिन्न तरिकाले आइरहेका छन् ।’
‘पार्टीका जनप्रतिनिधिका रुपमा निर्वाचित साथीहरू जो साथीहरूलाई अहिले केन्द्रीय समितिमा भएका साथीहरूले मनोवैज्ञानिक ढंगले त्रास सिर्जना गर्ने, पार्टीभित्रका साथीहरूले कारबाहीका धम्कीहरू दिने, यसो गर्छौं, त्यसो गर्छौं भनेर विभिन्न ढंगले मिडिया ट्रायल गर्ने कामहरू भइरहेको छ । पार्टीले शर्मनाक पराजय व्यहोरिरहेको बेलामा प्रजातन्त्र, लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको र नेपाली कांग्रेसको परिस्थिति कमजोर भइरहेको बेलामा उहाँहरू सर्तक रहनुपर्छ, सचेत रहनुपर्छ, गम्भीर रहनुपर्छ, वार्ता, सम्वाद र सहमतिको प्रयासमा आउनुपर्छ, याचनाको प्रश्न होइन, हामी याचना पनि गरिरहेका छैनौँ,’ नेता नेपालीले भने ।
‘विशेष महाविधेशनका नाममा उहाँहरूले जसरी नेतृत्व चयन गर्नुभएको छ, त्यो नेतृत्वको सन्दर्भमा तलका कार्यकर्ताहरूले त्यसको जवाफ दिँदै छन्,’ उनले भने, ‘कांग्रेसका साथीहरूले यही विषयमा केन्द्रित भएर आगामी दिनहरूको हाम्रो रणनीति के रहने ? जिल्ला, प्रदेशका कार्यसमितिहरू, गाउँ, नगरका कार्यसमितिहरू, नेपाली कांग्रेसमा देशभरि रहनुभएका साथीहरूका सन्दर्भमा हामीले हाम्रा आफ्ना आगामी दिनका रणनीतिहरू के तय गर्ने ? भन्ने कुरामा केन्द्रित भएर छलफल भइरहेको छ ।’
नेता नेपालीले भने, ‘कांग्रेसको घोषणापत्र लेख्न समय थियो । उम्मेदवारको छलफल हुने समय थियो । विशेष महाधिवेशनका नाममा नाटक मञ्चन भयो । त्यसबाट आफूलाई सभापति घोषणा गर्नुभयो । टिकट वितरण गर्नुभयो । हामी निर्वाचनमा जानुपर्ने कुरा भयो । निर्वाचन बहिस्कार गर्ने कुरा पनि होइन । निर्वाचनमा हामी सहभागी नहुने कुरा पनि होइन । निर्वाचनमा जाने हो । मुखलाई भन्दा रुखलाई हेरेर भोट माग्ने हो । हाम्रा पार्टीभित्र उत्पन्न मतभेदहरूलाई निर्वाचनसम्मका लागि स्थगित राख्ने हो । त्यसपछि अदालतको फैसला अगाडि हामी विवादको विषयलाई छलफल गर्ने हो भन्ने ढंगले गाउँ गएको हो । कांग्रेसको पक्षमा जनमत सिर्जना गर्ने कोशिष गरेको हो । उहाँले स्वघोषित सभापति घोषणा गरेकोमा निर्वाचनसम्म स्वीकार गरेको हो । अहिलेको सन्दर्भमा सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकताको बहस नटुंगिएको हुनाले अहिले हामीले उहाँ (गगन थापा)लाई सभापतिको रुपमा स्वीकार गरेका छैनौँ । अदालतको निर्णयपछि कसरी जाने भन्ने कुरा त्यति बेला हामीलाई समयले निर्धारण गर्छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया