देउवा परिवारको सम्पत्तिको वास्तविकता के हो ? सरकारलाई बुझाएको विवरणले के भन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाको नाममा रहेको घरजग्गाको स्रोत माइतले दिएको दाइजो तथा पेवा, पुर्खेउली र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट काम गर्दाको आम्दानीबाट खरिद गरेको सरकारी तथ्याङ्क र दस्तावेजहरूले देखाएको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा.राणाले आफ्नो सम्पत्तिको विवरण सरकारलाई पटक पटक बुझाइसकेका छन् । डा.राणालाई उनका बुबाले बर्दियामा ६ विगाह अर्थात् झण्डै ८० रोपनी जमीन दाइजो दिएका थिए । आफूलाई दाइजो आएको बर्दियाको जग्गाबाटै छोरा जयवीरसिंह देउवालाई ३ बिगाह अर्थात ४० रोपनी जमीन २०७५ सालमा बकसपत्र गरेकी हुन् । यो कुनै नयाँ जमीन किनेको होइन, बकसपत्र मात्रै गरेको हो ।

मनोविज्ञानमा विद्यावारिधी गरेकी डा.राणाले २०४५ सालदेखि २०६४ सालसम्म विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विकास नियोगहरू परामर्शदाताको रुपमा जागिर खाएकी थिइन् । डा.राणाले डेनिस सहयोग नियोग (डानिडा), अमेरिकन सहयोग नियोग (युएसएआईडी), वुमेन काईन्ड, इसिमोड, आइयुसीएन, डीएफआइडी, द एसिया फाण्डेशन, युएनडीपी, युनिसेफ, आईपीपीएफ इन्टरनेस्नल, केयर नेपाल, सेभ द चिल्ड्रेन, राष्ट्रिय योजना आयोग, गरिबी निवारण कोष, महिला तथा बालबालिका मन्त्रालय, वन मन्त्रालय, युनिफेम (हालको यु एन उमन), रुडुक, साथी लगायत दुई दर्जनभन्दा बढि संस्थाहरूमा परामर्शदाताको रुपमा काम गरेकी थिइन् ।

यी सबै संस्थामा डलर र नेपाली रुपियाँमा उच्च तलव खाने नेपाली परामर्शदातामा उनी थिइन् । डा.राणाले लामो समयसम्म आईयुसीयन, आइपास र ग्लोबल ह्ईट रिवन एलाईन्समा बोर्डमा रही अन्तर्राष्ट्रियस्तरमा पनि काम गरेकी थिइन् ।

त्यति बेलै डा.राणा काठमाडौं कलेज आफ म्यानेजमेन्टको संस्थापक बोर्ड डाइरेक्टर पनि थिइन् । यी विभिन्न संस्थामा काम गर्दा कमाएको रकमबाट २०५२ सालमा डडेलधुरामा १३ रोपनी बाँजो जग्गा ४ लाख रुपियामा खरिद गरेको सरकारी दस्तावेजले देखाएको छ ।

डा.राणालाई मकवानपुरको औद्योगिक क्षेत्रमा उनको पुर्खेउली दाइजोका रुपमा ५ धुर जग्गा दिइएको थियो । सोही जग्गा २०६७ सालमा बिक्री गरेर मकवानपुरको शहरबाट टाढा ग्रामीण क्षेत्रमा २ कट्ठा जमीन खरिद गरेकी थिइन् ।

डा.राणाले विवाह अगाडिनै भक्तपुरको सिपाडोलमा ४ रोपनी जमीन खरिद गरेको मालपोतको रेकर्डमा उल्लेख छ । त्यस बेला डा.राणाले क्यानाडियन को–ओपरेशन कार्यालयमा काम गर्दा जम्मा भएको स्वआर्जित रकमबाट उक्त जमीन खरिद गरेकी हुन् ।

विभिन्न संस्थामा काम गर्दा जम्मा भएको रकमबाट कांग्रेस नेतृ डा.राणाले २०६५ सालमा कास्कीको ग्यार्जातीमा २ रोपनी जग्गा खरिद गरेको मालपोतको कागजातमा उल्लेख छ । सोही स्वआर्जित रकमबाट २०५४ सालमा कैलालीको टीकापुरमा ३ कठ्ठा २ धुर जमीन ५० हजार रुपियाँमा खरिद गरेको सरकारी दस्तावेजमा उल्लेख छ ।

काठमाडौंको बुढानिलकण्ठमा अहिले घर रहेको ६ रोपनी जग्गामध्य ४ रोपनी दाइजोको रुपमा खरिद गरिएको हो भने २ रोपनी स्वआर्जनबाट २०५२–२०५४ सालमा खरिद गरिएको थियो । सोही जग्गामा बनेको घर जेनजी आन्दोलनमा जलाइएको थियो ।

बुढानिलकण्ठको घर भएको जमीनकै ६ रोपनी जग्गाबाट २ रोपनी जग्गा र एक घर कित्ताकाट गरेर छोरा जयवीरसिंह देउवाको नाममा नामसारी गरिएको छ । कतिपयले यसलाई नै नयाँ जमीन किनेको भनेर प्रचार गरेका छन्, जुन अहिले डा.राणाको नामबाट जयबीर देउवाको नाममा २०७६ सालमा नामसारी मात्रै गरिएको मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कैलालीको धनगढीमा रहेको घर २०७४ सालमा बैंक ऋणबाट खरिद गरिएको हो । जेनजी आन्दोलनमा जलाएर ध्वस्त बनाएपछि त्यसकै बीमा रकमबाट बल्ल किस्ता सकिएको मालपोत कार्यालयको सरकारी कागजपत्रले देखाएको छ ।

२०२८ सालतिर खरिद गरेको कञ्चनपुरमा रहेको पुर्खेउली कृषि योग्य जमीनबाट पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अंशबाट आएको करीब १३.३१ रोपनी जमीन २०८१ सालमा छोरा जयवीर देउवाको नाममा नामसारी भएको मालपोत कार्यालयको तथ्याङ्कले देखाउँछ । यसलाई पनि कतिपयले नयाँ जमीन खरिद गरेको भनेर गलत प्रचार गरेका छन् ।

जयवीरले २०७७ सालमा कास्कीको ढिकुरपोखरीमा १२ रोपनी जमीन ५ देखि ६ लाख रुपियाँप्रति रोपनीमा आफ्नो व्यापार र बुबा आमाले बचाएको पैसाबाट भएको आम्दानीबाट खरिद गरेका हुन् । उक्त जग्गा लेकसाइडबाट गाडीमा एक घण्टाको दुरीमा ढिकुरपोखरीको विकट गाउँमा रहेको छ । भविष्यमा कृषि तथा कटेज निर्माण गर्न सकिन्छ कि भन्ने उदेश्यले उक्त जग्गा खरिद गरिएको हो ।

हिसाब गर्दा विभिन्न जिल्लामा डा.राणाको नाममा जम्मा ४१.६४ रोपनी र छोरा जयवीरका नाममा ६७.२४ रोपनी जमीन रहेको देखिन्छ । जमीन भएका कित्ताहरू जोड्दा धेरै जस्तो देखिए पनि कास्कीको विकट, डडेलधुराको विकट पहाडमा जग्गा देखिएको छ, जसको बजार भाउ खासै बढी देखिदैन । त्यसका साथै अधिकांश पुर्खेउली तथा दाइजोमा र स्वआर्जनबाट विवाह अघि खरिद गरेको सरकारी कागजपत्रमा देखिएको छ ।

डा.राणले सार्वजनिक पदमा रहँदा सम्पत्ति विवरण नियमित रुपमा बुझाउने गर्थिन्, जसमा यो सबै विवरणहरू उल्लेख छ । पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा.राणा जुद्धशमशेर ज.ब. राणाको नातिनी हुन् ।

Published : Monday, 2026 March 30, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया