व्यूरोद्वारा खैरो हेरोईन र चरेसहित ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले खैरो हेरोईन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर व्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले दुई फरक घटनामा पाँचजना पक्राउ गरेको बताए ।

काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागुऔषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्ने मकवानपुरको थाहा नगरपालिका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङ छिन् । उनीसँग २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामत भएको व्यूरोले जनाएको छ ।

त्यसैगरी, भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर विक्री गर्दैआएको सूचनाका आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट तीन जना पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी–५का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेको तेमाल–८ का ३० वर्षीय सागर तामाङ छन् । उनीहरूसँग ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजटल तराजु बरामत भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई भारतको बिहारबाट खैरो हेरोइन ल्याएर दिने बिहार अररिया फारबिसगञ्जका २५ वर्षीय विपुल बर्मालाई पनि व्यूरोले पक्राउ गरेको छ । उनीसँग १०० ग्राम खैरो हेरोइन फेला परेको व्यूरोले जनाएको छ ।

Published : Saturday, 2026 March 21, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया