तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव
लुम्बिनी । लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव शुरु भएको छ ।
लुम्बिनीमा नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताए ।
सिन्हाले विश्व शान्तिका लागि लुम्बिनीले पुनः एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विभिन्न देशबाट आएका प्रतिनिधिहरूको उपस्थितिले लुम्बिनीलाई अन्तर्राष्ट्रिय मञ्च बनाएको बताए ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको बताए । उनले चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केवल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने बताए । उनले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्त गर्न सकिने बताए ।
लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको डा.लामाले बताए । ‘लुम्बिनी केवल बौद्ध धर्मावलम्बीका लागि मात्र होइन, शान्ति र सद्भाव चाहने हरेक व्यक्तिका लागि हो,’ डा.लामाले भने, ‘यहाँको अनुभवले सामान्य जीवनलाई आध्यात्मिक जीवनमा रूपान्तरण गर्न सक्छ ।’
महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेसन) कार्यक्रम आयोजना गरिनेछ । शनिबार अन्तर्राष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ । यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि समावेश गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया