पराजित हुँदा समेत कांग्रेस नेता खत्रीद्वारा गोरखाका विद्यालयहरूमा पोशाक र शैक्षिक सामग्रीहरू वितरण

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रेमकुमार खत्रीले कुनै हार वा जीतले समाज सेवाको आफ्नो यात्रा नरोकिने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेस नेता खत्रीले निर्वाचनको परिणाम एउटा प्रक्रिया रहेको बताए । उनले समाज सेवाको संकल्प आफ्नो जीवनको अभिन्न हिस्सा रहेको बताए ।

‘विगत १५ वर्षदेखि निस्वार्थ भावले शुरु गरेको यो यात्रा कुनै हार वा जीतले रोकिने छैन,’ उनले भने, ‘मैले चुनाव प्रचारका क्रममा भनेको थिएँ, चुनाव जितेपनि वा हारेपनि छिट्टै भेट्न आउनेछु ।’

यसैबीच, शुक्रबार कांग्रेस नेता खत्रीले गोरखाको गण्डकी गाउँपालिकाका बिभिन्न विद्यालयहरूमा पुगेर पोशाकहरू वितरण गरेका छन् । उनले ४ हजार ४ सय ६० जना विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय पोशाक (ट्रयाकसुट, टिसर्ट, जुत्ता, मोजा, टोपी) झोला र शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

‘मैले राजनीतिलाई सेवाको माध्यम बनाउन खोजेको थिएँ । तपाईहरूबाट अनुमोदित हुन सकिन,’ उनले भने, ‘खैर जेसुकै भएपनि मेरो सेवाका पाइला रोकिने छैनन् । तपाईहरुको माया र सद्भावको लागि सदैव आभारी छु ।’

गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा खत्रीले कांग्रेसको टिकटबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा नेता खत्री पराजित भएका थिए । पराजित भएको केही समयभित्रै शैक्षिक सामग्री र पोशाकहरू वितरण गर्न खत्री विद्यालयहरूमा पुगेका छन् ।

Published : Friday, 2026 March 20, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया