इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् ।

आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरेका छन् ।

आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । थापाले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गरेका छन् ।

थापाले काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।

थापासँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गरेको अनुभव पनि छ ।

थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ ।

आइएमई हस्पिटालिटी अन्तर्गत कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इलालगायत विभिन्न होटल तथा रिसोर्टहरूको व्यवस्थापन हेर्ने गर्छ ।

आइएमई हस्पिटालिटी आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गतको इकाइ हो । नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवास्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, इला होटल एण्ड रिसोर्टको नेटवर्कलाई नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूसम्म पुर्‍याउने तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Published : Tuesday, 2026 March 17, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया