सातै प्रदेशलाई समेटेर समानुपातिक सूची बुझाउन कांग्रेस सहमहामन्त्री चौधरीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री योगेन्द्र चौधरीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदा सात प्रदेशको प्रतिनिधित्व हुने गरी बुझाउनु पर्ने सुझाव राखेका छन् ।

आइतबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चौधरीले क्लस्टरअनुसार सातै प्रदेशलाई समेट्न सुझाव दिएका हुन् । स्रोतका अनुसार सह–महामन्त्री चौधरी सबै प्रदेशलाई संसदमा प्रतिनिधित्व गर्न र समानुपातिकको गरिमा राख्न पनि सात प्रदेशलाई समेट्न सुझाव दिएका हुन् ।

सहमहामन्त्री चौधरीले सात प्रदेशबाट कम्तिमा एक/एक जना समानुपातिकमा पर्नुपर्ने सुझाव राखेका थिए । चौधरीको सुझाव सात प्रदेशलाई समेट्नुपर्ने रहे पनि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा सातै प्रदेशबाट नाम समेटिएको छैन । केही प्रदेशहरू छुटेका छन् ।

कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ । निर्वाचन आयोगले आइताबर कार्यालय समयभित्र समानुपातिकको सूची बुझाउन निर्देशन दिएको छ । कांग्रेसले पनि तोकिएको समयभित्र नाम पठाएको छ ।

Published : Sunday, 2026 March 15, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया