योगेश धेरै फुरफुर गरेपछि पोखरेलले दिए करारा जवाफ

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेललाई योगेश भट्टराईले दिएका पछिल्ला अभिव्यक्तिहरूको जवाफ दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले भट्टराईलाई निर्वाचनका बेला आफैले दाङमा प्रचारका लागि आइदिन आग्रह गरेको बताएका छन् । भट्टराईलाई दाङमा बोलाउँदा ताप्लेजुङ जानुछ भनेर नआएको प्रशंग महासचिव पोखरेलले खुलाएका छन् ।

महासचिव पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ । तर, मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’

‘अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ,’ पोखरेलले भने, ‘त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो । मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ ।’

‘तर, अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु,’ महासचिव पोखरेलले भने, ‘सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।’

एमालेका नेता भट्टराईले पार्टी पराजित भएपछि नेतृत्वले जिम्मेवारी छाड्नुपर्ने भन्दै आफूलाई निर्वाचनका बेला महासचिव पोखरेलले कुनै जिम्मेवारी नदिएको बताएका छन् । त्यसको जवाफमा पोखरेलले भट्टराईलाई नङ्ग्याइदिएका छन् ।

Published : Saturday, 2026 March 14, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया