बालेनको घरबाट चोरी भएको घडी लामालाई उपहार, मनीष जेल चलान

काठमाडौं । राष्ट्रिय स्वन्त्रन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गरेको आरोपमा पक्राउ परेका तीन जनामध्ये एकजना पुर्पपक्षका लागि कारागार चलान भएका छन् भने दुईजना धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले २३ माघमा पक्राउ परेका काठमाडौं–१६ बालाजुका ४२ वर्षीय मनीष राजवाहकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मनीष २४ भदौको आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी हुन् । जेलबाट भागेपछि पनि श्रृङखलाबद्ध अपराधमा संलग्न भएपछि उनलाई अदालतले कारागार चलान गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ भने ५०/५० हजार रुपियाँ धरौटीमा छुटेका छन् ।

माघ १६ गते काठमाडौं– ४ चप्पल कारखानास्थित बालेनको भाडाको घरमा झ्याल फुटाएर चोरी भएको थियो । उनको घरबाट सिसिक्योमरा, ल्यापटप र डिभिआर (भिजिटल भिडियो रेकर्डर) तथा गहनाहरू चोरी भएको थिए ।

प्रहरीले अनुसन्धानका लागि छेवाङ सिंगी लामालाई पनि पक्राउ गरेको थियो । चोरी गरेको घडी मनीष राजवहाकले लामालाई उपहार दिएका थिए ।

लामा र मनीषबीच लेनदेन नदेखिएको भन्दै सरकारी वकिल कार्यालयले लामालाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

चोरी भएको नगद १० हजार र एप्पल कम्पनीको एक लाख ३५ हजार पर्ने आइप्याडको एक लाख ३५ हजार आरोपी मनीषबाट भराउन अभियोगमा मागदाबी लिइएको छ । गरगहना भने सुनको नभएको खुलेको छ ।

बालेनकी पत्नी सबिना काफ्लेले दिएको जाहेरीका आधारमा प्रहरीले सरकारी वकिल कार्याल काठमाडौंमार्फत मुद्दा दायर गरेकोमा गतसाता जिल्ला अदालतले थुनछेक आदेश गरेको हो । चोरी भएकोमध्ये सिसिक्यामेरा, डिभिआर र ल्यापटप भने आरोपीबाट प्रहरीले बरामद गरिसकेको छ ।

Published : Thursday, 2026 March 12, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया