पर्यटकको नक्कली उद्धार प्रकरणमा पानारोमाका शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी)ले पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा थप एक जनालाई पक्राउ गरेको छ ।

बुधबार सीआईबीले पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थि एजेन्ट, हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक गरी पक्राउ पर्नेको संख्या शेर्पासँगै १० पुगेको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुरमा र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका व्यक्तिहरूले नेपालमा पर्वतारोहणमा आएका पर्यटकको नक्कली उद्धार गर्ने गरेको आरोप छ ।

ट्रेकिङमा गएका पर्यटनलाई अनावश्यक रूपमा डर त्रास देखाउने, सामान्य बिरामी देखिए पनि ज्यानै जान सक्ने त्रास देखाउने गरेको सीआइबीको अनुसन्धानमा देखिएको छ ।

त्रासमा पारेपछि उद्धारका लागि सेटिङमा रहेका हेलिकप्टर कम्पनीमार्फत काठमाडौं ल्याउने गरेको आरोप छ । काठमाडौंकै अस्पतालमा लगेर उपचार गराउने र पछि बीमा दाबी गरी ठगेको आरोप उनीहरूमाथि छ ।

Published : Wednesday, 2026 March 11, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया