निर्वाचनको परिणाम अप्रत्यासित, कांग्रेसको विवाद अदालतले छिट्टै टुङ्ग्याओस् : नेता सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन आग्रह गरे । विशेष महाधिवेशनबारे नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको बताए ।

पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्ने नेता सिटौलाले बताएका छन् ।

उनले अदालतको फैसलापछि मात्रै पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने बताएका छन् । ‘विशेष महाधिवेशनलाई हामीले उचित ठानेका छैनौँ अहिलेसम्म पनि । अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ त्यसलाई छिट्टै टुङ्ग्याओस् हामी त्यही चाहन्छौँ र सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यसलाई छिट्टै टुङ्ग्याइदिए हुन्थ्यो,’ सिटौलाले भने, ‘त्यति मात्रै हाम्रो रिक्वेस्ट हो कसरी टुङ्ग्याउँछ हेर्न बाँकी छ नि त ।’

अदालतले उक्त मुद्दालाई कुन रूपमा फैसला गर्छ भन्नेकुरा भने प्रतिक्षाकै विषय रहेको उनउले बताएका छन् । अदालतको फैसला आएपछि मात्रै पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा थप छलफल हुने नेता सिटौलाको भनाइ छ ।

सिटौलाले प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् । उनले चुनावी नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।

कांग्रेस, एमाले, नेकपा तथा मधेसकेन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनको भनाइ छ । उनले निर्वाचन परिणामबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गरेका छन् ।

‘यो नतिजा अप्रत्याशित लाग्यो मलाई । तथापि, पार्टीभित्र छलफल गर्न बाँकी छ,’ सिटौलाले भने, ‘पुराना दलहरूको हैसियत उस्तैउस्तै देखिन्छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, त्यस्तै मधेसकेन्द्रित दलहरू सबै पुराना दलहरूका लागि यो अप्रत्याशितजस्तो नै देखिन्छ ।’

हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने कांग्रेस नेता सिटौलाले बताएका छन् ।

बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको उनले बताए । सिटौलाले नयाँ परिवेशमा राष्ट्रियसभाले निर्वाह गर्ने भूमिका अझ महत्वपूर्ण हुने बताएका छन् ।

Published : Wednesday, 2026 March 11, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया