गगनजी अब घुर्की लगाउन र स्टन्ट गर्न तथा ओली शैलीमा ‘त्यो पर्दैन’ भन्न सुहाउँदैन है

आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेस,
जय नेपाल।

शुरु गरौं फरक प्रसङ्गबाट, वर्तमान सुशीला कार्की सरकार बनेको केही दिनमै आत्मीय मित्र गोविन्द बन्दीले अंग्रेजीमा लेख लेख्दै भन्नुभयो, यो सरकार ‘लिगल‘ हैन तर ‘लेजिटिमेट’ हो । म आफू कानूनको विद्यार्थी नभएकोले ती दुईशब्दको भेद बुझिनँ र फोन गरेँ । एकैछिन पछि भेटेर कालो कफीको चुस्कीसँगै उहाँले भन्नुभयो, ‘राजुजी, संवैधानिक र कानूनी रुपमा यो सरकार बनेको हैन तसर्थ यो लिगल छैन तर, आन्दोलनको जगमा बनेको राजनीति र सबैले स्वीकार गरेकोले यो सरकार लेजिटिमेट चाहिँ भयो । अब यसले गरेका काम फेरि लिगल हुन्छन् ।’

अब फर्कौं हाम्रो पार्टीको विशेष अधिवेशन र भर्खरै सम्पन्न चुनावतर्फ । चुनाव भयो, हारियो । नराम्रोसँग हारियो । अब समीक्षाको नाममा अरुलाई दोष थोपर्ने र एकाध स्टन्ट गर्ने काम त होलान् नै, त्यो प्रक्रियालाई पनि तपाईंका वरिपरिका झुण्डले हो हो भन्दै समर्थन पनि गर्लान्, फेसबुकको भित्तो कोर्लान् र टिकटक पनि बनाऊलान् । तर, घाटा कसलाई ? तपाईं र हामीलाई ।

लामो सयमदेखि तपाईंको व्यक्तिगत आँट र हिम्मतको जति प्रशंसा गरे पनि, तपाईं चुनाव लड्न तराई झर्दा जति खुसी भए पनि, तपाईंको नेतृत्वमा विशेष महाधिवेशनको नाममा गरिएको एउटा रमाइलो स्टेज कार्यक्रमको भने समर्थन गर्न सकिनँ । अझ स्पष्ट शब्दमा भन्नुपर्दा त्यो एउटा सफल राजनीतिक ‘कु’ थियो । तसर्थ त्यो लिगल नभए पनि लेजिटिमेट हुनपुग्यो । यसो भनिरहँदा गौरवशाली पार्टीका चुनिएका बहुमत सदस्यको हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा दर्ता गरिएको प्रस्तावको जगमा भएको ऐतिहासिक विशेष महाधिवेशनको अपमूल्यन गर्ने भनी मप्रति आइलाग्नेहरूको कमी नहोला तर, त्यस्तो हैन भन्ने तपाईं लगायत आम कांग्रेसीलाई जति थाहा छ, त्यो भन्दा कम थाहा मलाई छैन ।

आन्दोलनले तपाईंलाई सभापतिको रुपमा त स्थापित गरायो तर, सेनाविनाको सेनापतिको रुपमा । बिहानसम्म बुढानीलकण्ठको आँगनमा तपाईंको खेदो खन्दै घाम ताप्दै गरेका, पुस्तौंदेखि उतैका पालनपोषणमा हुर्केका बढेका, बिहान बेलुकी आरती उतार्न उतै पुग्ने, असनबाट किनेर आफ्नै बारीको भन्दै काँक्रो पुर्‍याउन जानेहरू एकैछिनमा तपाईंका बफादार सिपाही बन्न आएको क्षण टीभीमा हेर्न पनि लाजलाग्ने थियो । मजस्तो सामान्य सदस्यले त विश्वास गर्न नसक्ने त्यो तस्बिर तपाईंले कसरी विश्वास गर्नुभयो, मैले अझै भेउ पाएको छैन । अझ भोलि यदि अदालतले विशेष महाधिवेशनलाई अवैध भन्यो भने सबैभन्दा पहिला बुढानीलकण्ठ को पुग्छ ? भनिरहनु नपर्ला ।

अनि त्यसमाथि तपाईंभित्रको परिवर्तनको चाहानालाई विगत दुई वर्षदेखि अविछिन्न साथ दिँदै आएकालाई पन्छाएर ती जसरी एकाएक तपाईंको आमूल परिवर्तनका संवाहक हुनपुगे, कांग्रेस हारेको त्यही दिनबाट हो ।

हामीले चुनाव किन हार्‍यौँ त ? अरु कसैको नाममा वा पार्टीको नाममा लहर आएर कि हाम्रै कारणले । दुवै होला । तर, दोश्रो पनि कम बलियो कारण भने हैन । विशेष अधिवेशनको नाममा पार्टी माथिदेखि तलसम्मै चिराचिरा परेको छ । घरमा समेत जवाफ दिन सकिन्न, बाहिरको कुरा त परै जाओस् । मैले आफ्नै घरमा सम्झाउन सकिनँ, बरु मलाई घरमा थर्काए । एकथरी भन्छन्, फलानो फलानो चुनाव प्रचारमा आएनन् र केही सिट हारियो । ‘फलानाको अनुहार लिएर चुनावमा जान सकिन्न, फलानाको हस्ताक्षर भएको टिकटबाट चुनाव लडिन्न’ भनेको हैन? अनि अब केको रोइलो? ढोकाबाट निकाल्न नसकेर झ्यालबाट निकालिएकाहरू चुनाव प्रचारमा आइदिनुपर्ने हो? कि उनीहरू आएका भए, ती आएर प्रचारप्रसारमा सामेल भएकोले हारियो भनेर दोष थोपार्न पाइन्थ्यो भनेर हो ?

मधेसमा एक, काठमाडौँ उपत्यका शून्य, पूरै बागमती प्रदेश एक, अरुतिर त्यस्तैत्यस्तै । सबै पदाधिकारी संसदबाहिर । लेख्दा पनि आङ सिरिङ्ग गर्छ, तर यथार्थ त यही हो नि, अनि यसको प्रमुख कारण तपाईं हो । तपाईंले चुनावको मुखैमा पार्टीमा चिराचिरा नपारेको भए यस्तो दुर्दशा चाहिँ हुने थिएन, यो मेरो ठोकुवा हो । तपाईंका कारणले समानुपातिकमा अप्रत्याशित नतिजा ल्याउँछ भन्ने भाष्य चाहिं सत्य भयो, नेपाली कांग्रेसको चुनावी जहाज डुबेको एमालेको भन्दा समानुपातिकमा पूरै तीन सिट बढी । त्योभन्दा अप्रत्याशित कति हुनु ! यो पटक चुनाव हार्नुमा जति गल्ती हिजोका कुशासकहरूको थियो, त्योभन्दा ठूलो गल्ती विशेष महाधिवेशन हुनपुग्यो, साँच्चिकै अर्थमा त्यो मन्चन विशेष हुनपुग्यो ।

अझ एक कदम अगाडि बढौँ, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोमा कुनै द्विविधा छैन । तर, यहाँ अपमान भने गर्न पाइन्न । विशेष महाधिवेशनको नाममा धेरैको अपमान भएको छ । अपमान हुँदा हिजो आफैँले बनाएको पार्टीबाट किसुनजी र गणेशमान सिंह समेतले सदस्यता त्यागेको इतिहास हामीसँग छ । यो पटक पनि अदालतको आदेश अहिलेकै स्थितिमा आउँदा शेरबहादुर देउवा लगायतले पार्टी परित्याग गर्नुभयो भने म अचम्म मान्दिनँ ।

अब चुनावअघि यहाँले भन्नुभएका दुई कुरा र मैले बुझेको अर्थमा उल्लेख गर्न चाहेँ। पहिलो, ‘अब कांग्रेसमा भागबण्डा हुन्न’, अर्थ मैले जे भन्छु त्यही हुन्छ कसैको सुन्दिनँ । दोश्रो, ‘कांग्रेस लास र दासहरूको पार्टी हुन्न’ । टिकट दिने बेलामा वडाबाट समेत सिफारिस नभएका झण्डै १५ प्रतिशतलाई टिकट दिँदा, हिजो जितेका तर कुनै दाग नलागेका दर्जनौँलाई विशेष महाधिवेशनमा सहयोग नगरेकै बहानामा पन्छाउँदा चाहिं पार्टीलाई लास बनाएको कि दास ? कि मिनिबस चढेर बुढानीलकण्ठबाट भृकुटीमण्डप पुगेपछि सुनपानी छर्केर शुद्ध भएका बाहेक सबै दास ? छातीमा हात राखेर भन्नसक्नुहुन्छ, टिकट दिँदा जानिजानी अन्याय गरेको छैन भनेर ? अनि परिणाम कस्तो आओस् त । जे रोप्यो त्यही फल्ने हैन र! धन्न नेपाली कांग्रेसले चुनावमा १८ सिट जितेछ ।

विशेष महाधिवेशनपछि कांग्रेस एक भएको, युवा सभापतिको नाममा देशभरि लहर आएका कुरा हल्लामै सीमित रहेछन् भन्ने देखियो । जे भयो भयो, विगतबाट त पाठ लिने न हो । अब के त ? फेरि गालीगलौज, स्टन्ट, घुर्की कि संयम र जिम्मेवार ।

गालीगलौजले आफैँलाई बिगार्छ, हाम्रो काँठतिर एउटा उखान छ, ‘काम खा अरु, रिस खा आफू’ । सायद चुनावमा हामीले शुरु गरेको गालीले केही भोट घटायो होला, अब त्यसो नगरौं, कसैलाई दोषपनि नथोपरौं । चुनाव हार्नुको शतप्रतिशत जिम्मेवारी तपाईं सभापतिको हो र तपाईंले नै लिनुपर्छ ।

बच्चाले आफूले भनेको नपुग्दा रुन मिल्छ, अलि ठूलो भएपछि रिसाएर खुट्टा बजार्न मिल्छ, बाह्र/तेह्र वर्षको हुँदा धुम्म परेर एकछाक खान्नँ भन्न मिल्छ तर, ठूलो भएपछि सहनुपर्छ। जीवनको यथार्थ यही हो । त्यस्तै अब केको राजीनामाको घुर्की, केको समाचार बाहिर फालेर स्टन्ट ? साँच्चिकै राजीनामा हो भने राजीनामाको हस्ताक्षर सहितको पत्र बाहिर आए भइहाल्यो । नेपाली कांग्रेसको सभापतिलाई, अब त घुर्की लगाउन र स्टन्ट गर्न सुहाउँदैन है । एक जना राजीनामा दिन्छु भन्ने अर्को ओली शैलीमा ‘त्यो पर्दैन’ भन्ने ? कतिन्जेल शान्त पोखरीमा ढुङ्गा हानेर अरुको नाडी छाम्ने ?

पहिलो र गर्नैपर्ने, राजीनामा हैन, अब काम, काम अनि काम । अब पार्टी एकता र स्थानीय तहको चुनावको तयारी गरौँ । संसदमा कसलाई कसरी प्रस्तुत गराउने त्यसको तयारीमा जुटौँ । पार्टी एकताको काम सभापतिले नै सुरु गर्नुपर्छ । हिजो ‘फलानालाई त लतारेर विशेष महाधिवेशनको पक्षमा ल्याउँछु’ भनेजस्तो सजिलो अब नहोला । अब सहमति र सहकार्य गरौँ । लिगल नभए पनि कांग्रेसको लेजिटिमेट सभापति तपाईं नै हो । महाधिवेशन दशैँतिर गरौँला, हतार छैन । हतार मनको एकताको छ । समय लिऊँ र अग्रसर बनौँ। यो काम तपाईंबाहेक अरु कसैले गरेर हुन्न र गर्न पनि सक्दैन ।

दोश्रो, पहिलो विकल्पमा तयार नहुने हो भने, ससर्त राजीनामा दिऊँ । सर्त के हो भने आगामी महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार नहुने । म तपाईंभन्दा उमेरले झण्डै दस वर्ष जेठो छु, मलाई अझै बीस वर्ष आफू सक्रिय हुन सक्छु जस्तो लाग्छ भने मेरै हिसाबमा त तपाईंको अरु ३० वर्ष सक्रिय हुने उमेर छ । केको हतार ? केही सयम बाहिर बस्नुस्, संगठन गर्नुस् । हैन भने जे हुँदैछन् सबै नाटक हुन्, सबै घुर्की हुन् र यो कांग्रेसीहरूप्रतिको अन्याय हो ।

अरु साक्षी किनाराका सदर ।

तपाईंकै भाषामा तपाईंको आफ्नै,
राजु दाइ
भक्तपुर कटुञ्जे

(राजु नेपाल)

Published : Tuesday, 2026 March 10, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया