इनिसाको बलत्कारपछि हत्याको आशंकामा ४ जना पक्राउ

वीरेन्द्रगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले बलत्कार र हत्याको घटनामा अनुसन्धानका लागि वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका छन् ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो । इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

इनिसा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले बताए ।

इनिसा फागुन २३ गते बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । अघिल्लो दिनसम्म बिहान ८ बजेभित्र घर फर्किने छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । फोन स्वीच अफ थियो ।

इनिसाको पोस्टमार्टम रिपोर्ट आएपछि एउटा निष्कर्षमा पुग्ने प्रहरीले बताएको छ ।

Published : Tuesday, 2026 March 10, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया