राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न जिम्मेवार बनाएको छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको जनाएको छ ।
बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछौं ।’
‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूको गहिरो विश्वासलाई पुष्टि गरेको छभने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ कांग्रेसले भनेको छ ।
‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं ।’
‘निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ कांग्रेसले भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया