मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण सम्पन्न, ६० प्रतिशत मत खस्यो
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान कार्य सम्पन्न भएको जनाएको छ ।
बिहीबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर २०८२ साल फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएका छन् ।
‘विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैंमा चुनौतीपूर्ण थियो,’ आयोगले भनेको छ ।
‘यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्थाहरू, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘देशभरबाट प्राप्त विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ,’ आयोगले भनेको छ, ‘यसको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको छ । छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ ।’
‘मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना कार्य तत्काल सुरु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ ।’
आयोगले भनेको छ, ‘ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पु¥याउने लक्ष्य छभने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम पश्चिम, मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पु¥याइनेछ ।’
‘प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदातामा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ,’ आयोगले भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया