ओपन हाउस रेस्ट्रोले कास्कीका सीडीओलाई टेरपुच्छर लगाएनन्, आचार संहिता विपरीत रक्सीसहितको भव्य पार्टी

पोखरा । जिल्ला प्रशासन कार्यालय (सीडीओ), कास्कीको आदेश विपरीत पोखराको लेकसाइड क्षेत्रमा ओपन हाउस रेस्ट्रो एण्ड लङ्ग बार (क्लब च्याट वल्क)ले मदिरासहितको कार्यक्रम गरेर चुनौती दिएको छ ।

फागुन १८ फागु पूर्णिमाको दिन र १९ गते पोखरा लेकसाइड क्षेत्रमा रहेका ओपन हाउस र क्लब च्याटवल्कले मदिरासहितको कार्यक्रम राखेर कास्की प्रशासनलाई चुनौती दिएको हो । ओपन हाउस रेस्ट्रोले खुलेआम मदिरा बिक्री गरेका छन् । निर्वाचन आचार संहिता विपरीत भएको ती कार्यक्रमको आलोचना भइरहेका छन् । ओपन हाउस रेष्ट्र र क्लब च्याटवल्कलाई कारबाहीको माग उठेको छ ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय, कास्कीको आदेश तथा निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै मदिरा बिक्री–वितरण तथा सेवन गराएको प्रत्यक्ष देखिएको भन्दै कारबाहीको माग उठेको छ ।

कास्की प्रशासनले २०८२ फागुन १५ गतेदेखि मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवनमा निषेध लगाएको छ । फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने कास्की प्रशासनको आदेशमा उल्लेख छ ।

व्यवसायीहरूले उक्त आदेशको उल्लंघन गरी खुला रूपमा व्यवसाय सञ्चालन गरेका छन् । निर्वाचन आचार संहितालाई उल्लंघन गरेका छन् ।

कास्की प्रशासनको आदेश र निर्वाचन आचार संहिता विपरीतको कार्य भएको भन्दै स्थानीयले गैरकानूनी गतिविधि नगर्न ओपन हाउस रेष्ट्रो र क्लब च्याटवल्कलाई अनुरोध गर्दा ‘आजभोलि केही फरक पर्दैन’ भनेर गैरजिम्मेवारपूर्ण जवाफ दिएको आरोप छ ।

मदिरासहितको सो कार्यक्रममा उपस्थित भएका अधिकांश व्यक्तिहरूले मदिरा सेवन गरि चुनावी गतिविधि गर्ने, मोटरसाइकल पड्काउने, सर्वसाधारणलाई तर्साउने तथा केही अमुक राजनीतिक दल र तिनका उम्मेदवारलाई भोट हाल्न दबाब दिने जस्ता गतिविधि गरी आम जनमानसमा त्रास फैलाएको आरोप छ ।

यसरी निर्वाचन जस्तो संवेदनशील समयमा प्रशासनको आदेशको खुला उल्लंघन गर्ने तथा समाजमा असुरक्षा र त्रास फैलाउने कार्यमा संलग्न सम्बन्धित व्यवसायी गुप्त लामा लगायत माथि आवश्यक छानबिन तथा कानूनी कारबाहीको माग उठेको छ ।

यस विषयमा प्रतिक्रिया लिन कास्कीका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दा फोनमा सम्पर्क हुन सकेन । फोन उठेन ।

Published : Wednesday, 2026 March 4, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया