निर्वाचन विपरीतका उछृङ्खल कार्य गर्ने नेकपाका कार्यकर्तालाई बाह्रबिसेमा स्थानीयले लखेटे
बाह्रबिसे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार माधव सापकोटाका समर्थकहरूले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेपछि स्थानीय मतदाताहरूले कुटपिट गरेर लखेटेका छन् ।
फागुन १७ गते नेकपाका नेता, कार्यकर्तालाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ४ बाट स्थानीयले लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट नेकपाका नेता माधव सापकोटा उम्मेदवार बनेका छन् । सापकोटाको प्रचार प्रसारमा खटिएका नेता, कार्यकर्ताहरूले निर्वाचन आचार संहिता विपरीतका गतिविधि गर्दै उछृङ्खल कार्य गरेपछि स्थानीयले प्रचार गर्न नदिएर लखेटेको प्रत्यक्षदर्शीले बताए ।
यसैबीच, नेकपाका नेता निमफुन्जो शेर्पालाई आफ्नै वडामा प्रवेश गर्न एमालेका कार्यकर्ताहरूले अबरोध गरेका छन् । एमालेलाई हराउन नेकपामा प्रवेश गरेको भनेर पार्टी प्रवेशका क्रममा अभिव्यक्ति दिएका शेर्पासँग रिसाएका एमालेका बाह्रबिसे नगरपालिकाका नेता तथा कार्यकर्ताहरूले शेर्पालाई आफ्नै वडामा प्रचार गर्न नदिएको एमालेका नेताहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया