ललितपुरमा प्रहरीमाथि आक्रमण, स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर
जावलाखेल । ललितपुरमा निर्वाचनको गस्तीमा हिंडेका प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन् ।
महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा सोमबार राति पौने ११ बजेको समयमा आक्रमण भएको प्रहरीले जनाएको छ । ती व्यक्तिहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।
प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । घटनामा घाइते भएका प्रहरी कर्मचारीको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुर गढी गाउँपालिका–२ घर भएका २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका –३ घर भएका २० वर्षीय रमेश शाही, दार्मा गाउँपालिका–३ घर भएका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन् ।
मतदानका लागि केही घण्टा बाँकी रहेका बेला ललितपुरमा प्रहरीमाथि आक्रमण भएको छ । देशका विभिन्न स्थानमा उछृङ्खल गतिविधिहरूका समाचार आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया