इरानको आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु
काठमाडौं । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।
युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । आक्रमणमा परेर एक जना नेपाली नागरिकको मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा एक जना बंगलादेशी र एक जना पाकिस्तानी नागरिक छन् । मृतकको पहिचान खुलाइएको छैन । अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।
युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन् ।
दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ । दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
आक्रमण सुरू भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो । तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । २१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको उल्लेख गरिएको छ ।
घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया