ललितपुर १ मा कांग्रेसको जित सुनिश्चित छ, धेरै मतको अन्तरले जित्छौं : मीनकृष्ण महर्जन

काठमाडौं । ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसमा धमाधम युवाहरु प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा एमालेका तत्कालीन बागमती प्रदेशका सदस्य चेतनाथ सञ्जेलका पूर्व स्वकीय सचिव पनि छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणा ललितपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । राणालाई अत्याधिक मतसहित विजयी गराउनुपर्ने भन्दै पूर्वमन्त्री समेत रहेका बागमती प्रदेश सभा सदस्य (सांसद) एवम् कांग्रेस नेता मीनकृष्ण महर्जनले युवाहरुमा जागरुकता आएको बताए । उनले भने, ‘ललितपुर क्षेत्र नं. १ मा जसले जे भने पनि कांग्रेसले जित्छ । पहिलाको भन्दा धेरै मतको अन्तरले हामीले सहमहामन्त्रीसमेत रहनु भएका उम्मेदवार उदयशम्शेर राणालाई विजयी बनाउने छौँ ।’

कांग्रेस नेता महर्जनले राणाको जित सुनिश्चित जस्तै रहेको बताए । उनले भने, ‘उदयशम्शेर राणाज्यूको जित सुनिश्चित जस्तै छ । हामी पहिलोको भन्दा धेरै मतको अन्तरले जित्नुपर्छ भनेर लागेका छौं । उदयशम्शेर राणाको तुलना अरु पार्टीका उम्मेदवारहरुसँग छैन र हुँदैन ।’

खेलकुद पृष्ठभूमिबाट आएका महर्जन ललितपुर क्षेत्र नं. १ मा लोकप्रिय मानिन्छन् । युवाहरुका बीच रुचाइएका महर्जनले कांग्रेसका उम्मेदवार राणालाई विजयी बनाउन बाक्लो मतदाता रहेका स्थानमा प्रचार प्रसारलाई तीब्रता दिएका छन् । साथै युवाहरुलाई धमाधम कांग्रेसमा प्रवेश गराएका छन् । शहरी र ग्रामीण क्षेत्रमा कांग्रेसको पक्षमा तीब्रताका साथ प्रचार प्रसार भइरहेको महर्जनले बताए ।

उम्मेदवार राणा र पूर्वमन्त्री महर्जनले नवप्रवेशीहरुलाई कांग्रेसमा स्वागत गर्दै आएका छन् । ललितपुर क्षेत्र नं. १ मा कांग्रेस प्रवेश गर्नेहरुमा एमालेका गोदावरी नगर कमिटीका सदस्य दीपेन्द्र देशार, एमालेका सक्रिय सदस्य नरेश देशार, सुमंगल देशार, सामुयल देशार, मनिन देशार, उज्वल देशार लगायत २० जना रहेका छन् । नवप्रवेशीहरुलाई पूर्वमन्त्री महर्जनले प्रवेश गराएकाा छन् । दीपेन्द्र देशार एमालेका तत्कालीन सांसद चेतनाथ सञ्जेलका पूर्व स्वकीय सचिव हुन् ।

त्यसैगरी आइतबार मात्रै ललितपुर क्षेत्र नं. १ मा कांग्रेसमा प्रवेश गर्नेहरुमा राजु भोम्जन (राप्रपा), हिरामान स्याङतान (राप्रपा), सूर्यमान स्याङतान (एमाले), खिलबहादुर सिंतान (राप्रपा), राजु स्याङतान (एमाले), राहुल बिक (एमाले), राजुलाल स्याङतान लगायत १५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री एवम् कांग्रेस नेता महर्जनले ललितपुर क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाको पक्षमा प्रचार प्रसारमा उत्रिन निर्देशन दिएका छन् । महर्जनले कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई क्षमता र योग्यताका आधारमा पार्टीमा जिम्मेवारी दिइने बताएका छन् ।

Published : Sunday, 2026 March 1, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया