निर्वाचनलाई भयरहित एवं निष्पक्ष गराउन आईजीपी कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिएका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्देशन दिएका हुन् ।

कार्कीले आसन्न निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने र सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति सहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए । भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय एवं सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ–आफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पदान गर्नुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने एवं अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जालमार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने बताए ।

आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त परिचालनका साथै संयुक्त पूर्वअभ्यासहरूलाई समेत प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने उनले बताए ।

निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवं दायित्व तथा सामाजिक सञ्जालको प्रयोगमा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिबद्ध भई आ–आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको वातावरणलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्दै मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रको निर्माण एवं मतदानस्थलमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलतामा कुनै पनि त्रुटि नहुने गरी काम गर्नुपर्ने बताए ।

निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह गरेका छन् ।

साथै कुनै पनि आर्थिक अपराध एवं हुन्डी कारोबारमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन अझ खरो रूपमा प्रस्तुत भई काम गर्नसमेत उनले निर्देशन दिए ।

Published : Sunday, 2026 March 1, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया