अमेरिकाबाट ९५ नेपाली देश निकाला, काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाले डिपोर्ट अर्थात् देश निकाला गरेका ९५ नेपालीहरु काठमाडौं आइपुगेका छन् ।
शनिबार ९५ नेपालीहरु काठमाडौं आएका हुन् । अमेरिकाले चार्टर विमानमा राखेर नेपालीहरुलाई नेपाल पठाइदिएको हो । ती नेपालीहरु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका छन् ।
अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली शनिबार बिहान ८ बजे काठमाडौं आइपुगेको स्रोतले जनाएको छ ।
एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गत माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो ।
अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।
डिपोर्ट गरिएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराउने गरेको छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।
अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा सूचना लिने कार्य प्रहरीले गर्छ ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया