ब्रिजवाटर इण्टरनेशनल कलेजमा फुड फेष्टिबल सम्पन्न
काठमाडौं । ब्रिजवाटर इण्टरनेशनल कलेज, सिनामंगल काठमाडौंले वार्षिक ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ ।
कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय लिई अध्ययनरत विद्यार्थीको अगुवाइमा सम्पन्न ‘बाइट एण्ड डिलाइट फेष्ट’ नाम दिइएको सो एक दिने महोत्सवको उद्घाटन जिल्ला होटल संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले गरेका हुन् । कलेज परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य कृष्ण पौडेलले गरेका थिए ।
विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई एकै स्थानमा समेट्दै स्वाद, मनोरञ्जन र सांस्कृतिक गतिविधिको एकीकृत अनुभव गराउनु महोत्सवको उद्देश्य रहेको थियो ।
यस वर्षको मेलामा विद्यार्थी आफैले तयार पारेका बिभिन्न २६ परिकारहरूका १३ वटा स्टल राखिएका थिए । जसमा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको विविधता प्रस्तुत गरिएको थियो । विद्यार्थीले आफ्नै सिर्जनशीलता र पाककला कौशल देखाउँदै बारा, छोएला, मेक्सिकन कर्नकप, स्याण्डविच पप, दही पापडी, पीङ्गर फ्रायर्स, स्याफाले, लाफिङ, मोमो, पास्ता, सुशी, पिज्जा, चटपटे, पानी–पुरी, चुकाउनी, मिक्स्ड फ्रुट योगर्ट, रेन्बो कप, सलाद, लगायतका परिकारहरू तयार पारेका थिए ।
प्रत्येक स्टलमा विद्यार्थीको टोलीले ग्राहकलाई स्वागत गर्दै परिकारको उत्पत्ति, बनाउने तरिका र विशेषताबारे जानकारी पनि दिएका थिए, जसले कार्यक्रमलाई केवल स्वादको अनुभव मात्र नभई शैक्षिक स्वरूप पनि प्रदान गरेको थियो ।
फेष्टिबलमा ‘कुकिङ शो’, सांस्कृतिक प्रस्तुति’, ‘फुड टेस्टीङ, ‘फन गेम्स’ र फोटोग्राफीका गतिविधिहरूले सहभागीहरूको उत्साह उच्च बनायो ।
मुख्य अतिथिको रुपमा होटल संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विद्यार्थीले आफ्नो सिप र कौशलको सामर्थ्यले स्वदेशमा नै अनन्त सम्भावना र पर्यटन क्षेत्र नेपालको गौरव भएको बताए ।
स्थानीय परिकारको मौलिकता र प्रचारले नेपालप्रति बिदेशीहरूको आकर्षण झनै विस्तार र व्यापक गराउनेतर्फ हामीले काम गर्नु उनले बताए ।
कलेज प्रचार्य कृष्ण पौडेलले मुख्य अतिथिलाई धन्यवाद र मायाको चिनो प्रदान गरेका छन् । पौडेलले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई केवल कक्षाकोठाभित्रको ज्ञानमा सीमित नराखी, जीवनका विभिन्न सीपहरू सिकाउने हो । फुड फेष्टिबल जस्ता कार्यक्रमहरूले नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्न मद्दत पुर्याउँछन् ।’
ब्रिजवाटर इण्टरनेशनल कलेजले यस्ता सिर्जनात्मक, शैक्षिक र सामुदायिक कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ व्यापक र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजना बनाएको छ ।
कलेज प्रशासनले अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय समुदायलाई निरन्तर समर्थन र सहभागिताका लागि धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया