जनतामा अझै पनि कांग्रेसप्रतिको विश्वास कम भएको छैन, संखुवासभामा जित्छौं : दीपक खड्का

संखुवासभा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन चुनावी प्रचार प्रसारको कार्यक्रममा हिँडेका छन् ।

काठमाडौंबाट विराटनगर प्रस्थान पश्चात् केही समय विराट टिचिङ अस्पतालमा बिताएर नेता खड्का सिधै आफ्नो गृहजिल्ला संखुवासभा आइपुगेका हुन् । उनले भने, ‘हिजो, आज र भोलि – सधैं तपाईंहरूकै साथमा थिएँ, छु र रहनेछु । म संखुवासभा पटक पटक आएर निरन्तर पार्टीलाई विजयी गराउने अभियानमा छु ।’

नेता खड्काले भने, ‘ढिला आइपुगे तापनि त्यो पर्खाइका बीच सम्पन्न सामान्य औपचारिक कार्यक्रममा उपस्थित भई जनताले देखाउनुभएको अपार माया, आशा र भरोसाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

‘तपाईंहरूको विश्वास नै मेरो प्रेरणा, ऊर्जा र प्रतिबद्धताको आधार हो,’ खड्काले भने, ‘दिन ढल्किसकेको अवस्था हुँदाहुँदै पनि सामान्य घरपरिवार भेटघाट तथा घरदैलो कार्यक्रममा सहभागी भएँ ।’

‘जनतामा अझै पनि नेपाली कांग्रेसप्रतिको ऊर्जा, उत्साह र विश्वास कत्ति पनि कम नभई झन् बढ्दै गएको मैले स्पष्ट रूपमा महसुस गरेको छु,’ नेता खड्काले भने, ‘यही जनविश्वास र समर्थन नै हाम्रो अभियानको सबैभन्दा ठूलो शक्ति हो ।’

भोलि शुक्रबार धर्मदेवी नगरपालिका–मुढेमा सानो कार्यक्रम सम्पन्न गरी मादी, चैनपुर र पाँचखपनतर्फ पुग्ने कार्यक्रम तय भएको नेता खड्काले बताएका छन् ।

‘अब हाम्रो एउटै लक्ष्य – देश र लोकतन्त्र बचाउन – देशको सुन्दर भविस्य निर्माणका लागि – रुखमा मतदान, कांग्रेसलाई विजयी बनाउने अभियान – सम्पूर्णमा जय नेपाल,’ नेता खड्काले भने ।

Published : Thursday, 2026 February 26, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया