आफू बदलिएर देश बदल्ने संकल्प बोकेको कांग्रेस मतदाता माझ उपस्थित भएको छ : इन्द्र बानियाँ
काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विशेष परिस्थितिका बीच आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै निर्वाचनलाई ऐतिहासिक अवसरको रुपमा सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार अपील गर्दै सभापति बानियाँले भने, ‘देश बनाउने महासंग्राममा तपाईंको एक मत अमूल्य हुन्छ । यसले समुन्नतिको आकांक्षा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’
‘आफू बदलिएर देश बदल्ने संकल्प बोकेको नेपाली कांग्रेस नवीन सोंच र स्पष्ट मार्गदर्शनसहित आम मतदाता माझ उपस्थित भएको छ,’ उनले भने, ‘देशमा भएका हरेक परिवर्तनमा जनमतको अनुरुप जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जेनेरेसनको भावनालाई पनि आत्मसात गर्दै अगाडि बढेको छ ।’
सभापति बानियाँले भने, ‘सहकारी काण्डमा हुने हिनामिना, गैरजिम्मेवारीपन, बेरोजगारी, राजनीतिक अस्थिरताका बीच निराशाको भुमरीबाट देशलाई बाहिर निकाल्न दृढ, दूरदर्शी र जनमुखी पार्टी र नेतृत्व आवश्यक छ ।’
‘सार्वजनिक व्यक्ति निजी स्वार्थमा लागी कागजात र प्रक्रिया पूरा भएका कामलाई तत्काल सेवा प्राप्त गर्न सकिने संरचनाको निर्माण आजको मूल आवश्यकता हो,’ उनले भने, ‘सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त देशलाई नारामा सीमित नगरी समावेशी विकासको स्पष्ट दृष्टिकोणसहित कांग्रेस क्रियाशील छ ।’
‘राजनीति पेशा होइन, सेवा हो भन्ने मान्यतासहित सुशासन, समावेशिता र आर्थिक रुपान्तरणप्रति प्रतिबद्ध रहि गरिबमुखी, आत्मनिर्भर, न्यायमुखी, सेवामुखी, जनमुखी र विकासमुखी कार्यक्रमहरु कार्यान्वयनमा नेपाली कांग्रेस प्रतिबद्ध र क्रियाशील छ,’ सभापति बानियाँले भने ।
‘आर्थिक सुदृढीकरण, आधुनिक कृषि प्रणाली, औद्योगिक विकास, पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास तथा सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधार विस्तार, सबै वर्ग, क्षेत्र, लिङ्ग, जात, धर्म, भाषा र समुदायलाई समान अवसर सुनिश्चित गर्दै महिला र युवाको सहभागिता विस्तार गर्न तथा दुर्गम क्षेत्रलाई मूलधारसँग जोड्ने स्पष्ट दृष्टिकोणसहित तपाईं सामु आएको छ,’ उनले भने ।
‘नेपाली कांग्रेसले घोषणापत्रमार्फत समुन्नत नेपाल, सम्मिलित नेपाली नारासहित लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न प्रतिबद्धता सहित विगतका कमजोरी सुधार्दै जनमुखी कांग्रेस कांग्रेस २.० को अवधारणा अघि बढाएको छ,’ उनले भने, ‘राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायमार्फत देश परिवर्तन गर्न बागमती प्रदेशका ३३ वटै तथा देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई रुख चिन्ह प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरिदिनुहुन नेपाली कांग्रेस बागमती प्रदेश हार्दिक अपील गर्दछ ।’
‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेसले युवापुस्तामा देखिएको आक्रोश, भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको मागलाई गम्भीर रुपमा लिएको छ,’ उनले भने ।
‘विगतका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिज्ञा गरिएको छ । यसै प्रतिज्ञाका लागि सिङ्गो पार्टीसँग समन्वय गर्दै नेपाली कांग्रेसले प्राइमरी इलेक्शन जस्ता आन्तरिक सुधारमार्फत पार्टी संरचना सुदृढ गर्ने नीति लिएको छ,’ सभापति बानियाँले भने ।
‘राज्यका निकाय र सार्वजनिक संस्थाहरूमा हुने राजनीतिक भागबण्डा र दलीयकरणलाई पूर्ण रुपमा निरुत्साहित गर्दै भ्रष्टाचारको समूल अन्त्य र विधिको शासन स्थापना गर्ने प्रतिज्ञा गरिएको छ,’ उनले भने ।
‘प्रक्रियामा मात्र अल्झिने प्रशासनलाई सुधार गरी शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रत्यक्ष परिणाम देखिने गरी डेलिभरी दिने लक्ष्य नेपाली कांग्रेसले राखेको छ,’ बानियाँले भने ।
सभापति बानियाँले भने, ‘देशमै उत्पादन र रोजगारी सृजनाका लागि लगानी मैत्री कानून, लगानी मैत्री कार्यप्रणाली विकास, लगानीको सुरक्षा तथा स्वरोजगार बनाउन युवाहरुलाई डिजिटल प्लेटफर्ममा प्रोत्साहन गरी डिजिटाइज सीप र उपार्जन गर्न सकिने बनाउने आवश्यक नीति निर्माण गरी नेपालमै सम्भव छ भन्ने वातावरण विकास गर्दै समुन्नत नेपाल बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ ।’
‘निःशुल्क स्वास्थ्य सेवाका लागि सबैलाई बीमा र सबै उपचार बीमाबाट हुने बनाउने अभियानमा नेपाली कांग्रेस क्रियाशील छ,’ उनले भने, ‘सहरी सुदृढीकरण, आम जनताको सुरक्षित यातायातका लागि सुरक्षित सडकको विकास, आयोजनाको ठेक्का प्रणाली सुधार गरी प्रभावकारी आयोजना कार्यान्वयन, नेपालको प्रचुर सम्भावना बोकेको ऊर्जा क्षेत्र उज्यालोका लागि मात्र होइन आर्थिक उपार्जन र जनतालाई घरेलु तथा स्वरोजगार बनाउन सकिने अवधारणालाई पूरा गर्न नेपाली कांग्रेस सामूहिक सहित यहाँहरूबीच आएको छ ।’
सभापति बानियाँले भने, ‘सहकारी सहकारी, सहकारी मार्फत आर्थिक सशक्तीकरण र समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गराउने विषय नेपाली कांग्रेस पूरा गरेर देखाउन चाहन्छ । जनताको मनोबललाई मजबुत राहत प्रदान गर्न, किसानलाई उत्पादनमा प्रोत्साहन गर्न मल, बीउको सुलभ उपलब्धता तथा उत्पादनको उचित बजार मूल्य प्रदान गर्न र उपभोक्तालाई किसानले पाउने मूल्यमा नै ताजा र स्वच्छ नेपाली उत्पादन भोग्य वस्तुमा पु¥याउने स्पष्ट योजनाका साथ नेपाली कांग्रेस यहाँहरूको बीचमा आएको छ ।’
‘महिला, युवामुखी र समावेशीता बढोत्तरीको उचित व्यवस्थापन गर्न नेपाली कांग्रेस काम गरेर देखाउने अठोट व्यक्त गर्दछ, एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई पूरा गर्न नेपाली कांग्रेस पूर्ण जिम्मेवार छ,’ उनले भने, ‘राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सार्क सशक्तिकरण, समावेशीताको आधारमा सबै राष्ट्रसँग सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै समुन्नत नेपाल, सम्मिलित नेपालीको लक्ष्य पूरा गर्न कांग्रेस सदा क्रियाशील रहनेछ ।’
सभापति बानियाँले भने, ‘नेपाली कांग्रेस आफ्ना विगतका कमीकमजोरीको जिम्मेवारी लिँदै, बदलिएको कांग्रेस, बदलिँदो देश भन्ने मूल संकल्पका साथ यहाँहरूको बीचमा आएको छ । युवाको आवाजलाई आत्मसात गर्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता सहित समुन्नत नेपाल, सम्मिलित नेपालीको लक्ष्यलाई साकार बनाउन बागमती प्रदेशका ३३ वटै तथा देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार साथीहरूलाई प्रत्यक्ष र समानुपातिक दुबैतर्फ रुख चिन्हमा मतदान गरी विजयी गराउनुहुन तपाईं समक्ष हार्दिक अपील गर्दछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया