कांग्रेस नेतृ डा.राणाद्वारा भारतको मध्य प्रदेशस्थित बगलामुखी मन्दिरको दर्शन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको मध्य प्रदेशस्थित बगलामुखी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेकी छिन् ।
चार दिन अगाडि भारतको धार्मिक भ्रमणमा गएकी डा.राणाले बगलामुखी मन्दिरको दर्शन गरेकी हुन् । कांग्रेस नेतृ लक्ष्मी खतिवडाले डा.राणाले बगलामुखी मन्दिरको दर्शन गर्नुका साथै अन्य मन्दिरहरूमा पनि पूजापाठ गरिएको बताइन् ।
डा.राणासँगै बगलामुखी मन्दिरको दर्शनका लागि कांग्रेस नेतृ लक्ष्मी खतिवडा, बागमती प्रदेशको सहकारी तथा गरिवी निवारमन्त्री विनु रायमाझी पौडेल र समाजसेवी एवम् नेतृ अनिता सिंह पनि बगलामुखी मन्दिरको दर्शनका लागि गएका छन् । बगलामुखी मन्दिरको दर्शनका लागि नेपालबाट हरेक महिना ठूलो संख्यामा नेपालीहरू जाने गर्छन् ।
बगलामुखी मन्दिर भारतको मध्य प्रदेशको आगर–मालवा जिल्लाको नलखेडामा अवस्थित छ । बगलामुखी मन्दिर प्रसिद्ध तान्त्रिक सिद्धपीठ मानिन्छ । मन्दिर लखन्दर नदीको किनारमा रहेको छ ।
महाभारतकालीन मानिने यो मन्दिरमा माता बगलामुखी, महालक्ष्मी र सरस्वतीको मूर्ति (पिन्डी) रहेको छ । मान्यता अनुसार, पाण्डवहरूले अज्ञातवासमा कौरवहरूमाथि विजय प्राप्त गर्न श्रीकृष्णको सल्लाहमा बगलामुखी मन्दिरमा साधना गरेका थिए ।
बगलामुखी मन्दिर १० महाविद्याहरूमध्ये आठौं महाविद्या माता बगलामुखीको प्रमुख पीठ हो । मन्दिर ५०० वर्षभन्दा बढी पुरानो र तान्त्रिक साधनाका लागि प्रसिद्ध छ ।
बगलामुखी मन्दिरमा पूजा गर्दा शत्रुनाश, बाधा निवारण र सफलता प्राप्तिका लागि विशेष हवन (तान्त्रिक पूजा) गरिने परम्परा छ ।
मन्दिरको वरिपरि श्मशान (मुक्तिधाम) र प्राचीन रूखहरू रहेका छन्, जसले यसलाई सिद्धपीठ बनाएको छ ।
बगलामुखी मन्दिरको दर्शनका लागि भारत र नेपालका साथै अन्य विदेशहरूबाट भक्तजनहरू र साधकहरू कष्ट निवारणका लागि आउने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया