जिताएर पठाउनुस्, बुद्धसिंह मार्गका सबै पुल निर्माण गर्छु : कांग्रेस नेता भट्टराई
घुमाउने । नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले शहीद बुद्धसिंह रानाको स्मृतिमा खोलिएको बुद्धसिंह मार्ग अन्तर्गतका सबै पुल निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो प्रमुख चुनावी एजेन्डा भएको बताएका छन् ।
बुधबार तनहुँ १ मा चुनावी प्रचार प्रसारका क्रममा नेता भट्टराईले बुद्धसिंह मार्गको ‘लाइफलाइन’ मानिने घुमाउने पुलसहित पाँचवटा पुल निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । ‘यो मार्गको काम नेपाली कांग्रेसले नै शहीद बुद्धसिंह रानाको सम्मान र स्मृतिमा सुरुवात गरेको हो,’ भट्टराईले भने ।
‘१२ वर्ष बितिसक्दा पनि पुलहरू अलपत्र हुनु दुःखद् विषय हो,’ उनले भने, ‘घुमाउने पुल मात्र होइन, सुँढेखोला, ढाँडखोला, खानी खोला, बगर खोला र भूतखोला गरी सबै पुल निर्माण सम्पन्न गराउनु मेरो पहिलो प्राथमिकता हुनेछ ।’
विक्रम संवत् २०७० सालदेखि शुरु भएको घुमाउने पुल पटक–पटकको डिजाइन परिवर्तन र निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म करिब ३६ प्रतिशत मात्र सम्पन्न भएको नेता भट्टराईले बताए ।
पुल नहुँदा सवारीसाधनहरू तनहुँको सिमानासम्म पुगेर फर्कनुपर्ने बाध्यता रहेको कांग्रेस नेता भट्टराईले बताएका छन् ।
नेता भट्टराईले आफू निर्वाचित भएपछि सम्बन्धित मन्त्रालय र सडक विभागसँग समन्वय गरी आवश्यक बजेट सुनिश्चित गर्ने र निर्माण प्रक्रियामा देखिएको ढिलासुस्ती अन्त्य गर्ने बताए ।
‘यो मार्ग सञ्चालनमा आएपछि नारायणगढसँगको दूरी २३ किलोमिटर छोटिनेछ,’ नेता भट्टराईले भने, ‘यसले कृषि, व्यापार र दैनिक आवागमनमा ठुलो राहत पुर्याउनेछ ।’
नेता भट्टराईले बुद्धसिंह मार्गलाई वैकल्पिक राजमार्गका रूपमा विकास गर्दै क्षेत्रीय आर्थिक समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया