आईजीपी कार्कीद्वारा पूर्व प्रमुख निर्वाचन आयुक्त र प्रहरीका पूर्व उच्च अधिकारीहरूसँग छलफल

काठमाडौं । नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ तथा सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक पूर्व निर्वाचन प्रमुख आयुक्त र पूर्वप्रहरी उच्च अधिकारीहरूसँग अन्तरक्रिया गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपी कार्की र प्रहरीका उच्च अधिकारीहरूले पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका साथै नेपाल प्रहरीका पूर्वआईजीपी र उच्च अधिकारीहरूसँग अन्तरक्रिया गरेका हुन् । निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी कार्य गर्नुपर्ने पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले बताएका छन् ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखि तर्जुमा गरिएका सुरक्षा रणनीति एवम् कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्ने पोखरेलले बताए ।

विगतमा सम्पन्न भएका निर्वाचन सुरक्षाको विश्लेषण गर्दै आसन्न निर्वाचनमा समेत अझ प्रभावकारी सुरक्षा रणनीति अपनाई कार्यसम्पादन गर्नुपर्ने पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले बताएका छन् ।

आईजीपी कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्न निर्देशन दिएका छन् ।

अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवम् पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आईजीपी कार्कीले व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए ।

विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना÷रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको आईजीपी कार्कीले बताए ।

निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जालमार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको आईजीपी कार्कीले बताए ।

कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीहरूलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताए ।

निर्वाचनको सन्दर्भमा नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति प्रशंसनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन समेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती÷विश्लेषण लगायतका विषयमा प्रस्तुतीकरण गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गरी नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनको लागि पूर्व तयारीका कार्यहरू अगाडि बढाइरहेको सन्दर्भमा विगतमा सम्पन्न निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका दिग्गज व्यक्तित्वहरू एवम् पूर्व वरिष्ठ प्रहरी अधिकृतहरूको अनुभव, व्यवहारिक ज्ञान तथा रणनीतिक सुझावहरूले निर्वाचन सुरक्षाको निम्ति महत्वपूर्ण आधार तय गर्ने भएकोले उक्त अनुभवलाई संस्थागत रूपमा समेटी निर्वाचन सुरक्षालाई थप प्रभावकारी, सुदृढ तथा परिमाणमुखी बनाउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

Published : Wednesday, 2026 February 25, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया