कानून निर्माणलाई अड्कलबाजीको विषय बनाउन हुँदैन : कल्याण श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् ।

नेपाल ल सोसाइटीद्वारा काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाइनुहुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन ।’

‘कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो,’ श्रेष्ठले भने, ‘कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरू छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरू हुन सक्छन ।’

अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको उनले बताए ।

‘अन्ध विश्वासको भरमा जब हामी कानून निर्माण गर्दछौँ । तब कानुन यस्तै हुने गर्दछ,’ उनले भने, ‘हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग संवाद नै गर्न नसकेको, यसका अन्तरंग प्रश्नहरू गर्नै नसकेको र कुष्टरोग प्रभावितहरू पनि उत्तिकै सम्मानित हुन् ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्ने बताए ।

‘समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन् भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो,’ श्रेष्ठले भने ।

Published : Wednesday, 2026 February 25, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया