८ अर्ब ३६ करोडको पोखरा विमानस्थल भ्रष्टाचारका अभियुक्त छाड्न १ लाख ५० हजार धरौटी माग
काठमाडौं । विशेष अदालत काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वसचिव सुशील घिमिरे १ लाख ५० हजार धरौटी माग गरेको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले बयानपछि घिमिरेसँग धरौटी माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव घिमिरेसँग ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपियाँ बिगो दाबी गरेको थियो ।
घिमिरेको हकमा पछि ठहरिए बमोजिम हुनेगरी उनको पदीय जिम्मेवारी र भूमिकालाई दृष्टिगत गरी धरौटी माग गर्ने आदेश गरेको छ ।
सोमबार विशेषले पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्ने आदेश गरेको थियो ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई एउटा मुद्दामा थुनामा पठाएको थियो भने पोखरा विमानस्थल प्रकरणमा सर्वोच्च अदालतले विशेष अदालतको धरौटीको आदेश उल्ट्याई थुनामा पठाउने आदेश गरेको थियो । पोखरा विमानस्थल प्रकरणमा सर्वोच्च अदालतले विशेष अदालतको धरौटीको आदेश उल्ट्याई थुनामा पठाउने आदेश गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा ५५ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया