गृहमन्त्रीद्वारा एआई सेलको उद्घाटन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित कृत्रिम बौद्धिकता र उन्नत विश्लेषण सेल (एआई सेल)को उद्घाटन गरेका छन् ।
सोमबार नक्सालमा गृहमन्त्री अर्यालले एआई सेलको उद्घाटन गरेका हुन् । अर्यालले एआई सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायतका विभिन्न गतिविधिबारेमा जानकारी समेत लिएका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु आर्याल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिदै गइरहेको अवस्थामा एआईमा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना अबको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने परिप्रेक्ष्यमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्य उन्मुख संरचना स्थापना गरिएको हो ।
नेपाल प्रहरीले यस एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया