कांग्रेस कपिलवस्तु १ को सङ्कल्प पत्र सार्वजनिक

तौलिहवा । नेपाली कांग्रेस कपिलवस्तु– १ ले प्रतिनिधि सभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रले जारी गरेको भिजन टेनलाई आधार बनाएर कपिलवस्तु १ मा कांग्रेसले भिजन सेवन सङ्कल्प पत्र सार्वजनिक गरेको हो ।

कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्तिसिंह ठकुरी, समानुपातिक उम्मेदवार विमला गैरे, बाणगंगा नगरपालिकाका पूर्वनगर प्रमुख मंगलप्रसाद थारु, बाणगंगा नगर सभापति विष्णु थापा, जिल्ला सदस्य टेकबहादुर शाही, नेता ध्रुव नेपाल सहित अग्रज नेता कार्यकर्तालाई साक्षी राखेर प्रतिनिधि सभा क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार अतहरकमाल मुसलमानले सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।

नेता कमालको आफ्नै वडा बाणगंगा नगरपालिका वडा नं. ११ देउवापारस्थित नेता रामशंकर थारुको घरमा सङ्कल्प पत्र सार्वजनिक गरिएको हो । सङ्कल्प पत्रमा शिक्षा, दिगो पूर्वाधार, खेल सिप अवसर र युवा, कृषि तथा सिंचाइ, सामाजिक सशक्तीकरण, सद्भाव र सुशासन, व्यवसाय प्रबर्द्धन गरि सात वटा भिजन राखेर सार्वजनिक गरिएको छ ।

जसमा शिक्षातर्फ बाणगंगामा जीपी मेमोरियल टेक्निकल ईन्स्टिच्युटको कार्य सुचारु, वन विज्ञान अध्ययन संस्थान स्थापना, अम्बेडकर समतामुलक शिक्षालय स्थापना सहितका कार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

पूर्वाधारतर्फ कपिलवस्तु विकास कोष गठनका लागि पहल, सडक पूर्वाधारहरूको निर्माण, तीन वटा पालिकामा व्यवस्थित बसपार्क निर्माण र आदीवासी जनजाति संग्राहलय स्थापना गर्ने जनाइएको छ ।

खेलकुद र युवातर्फ रंगशाला र खेल मैदान निर्माण, युवा स्टार्टअप कोष निर्माण गर्न नीतिगत पहल, युवा स्वरोजगारका लागि सिप प्रबर्द्धनको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

कृषितर्फ सिंचाइ पूर्वाधार निर्माण, छाडा र जंगली जनावरको व्यवस्थापन र क्षतिपूर्तिको सुनिश्चितता, भूमिहीन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानमा पहल, दुध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय र पशु पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम सञ्चानमा पहल गर्ने प्रतिबद्धता छ ।

सामाजिक सशक्तीकरणतर्फ युवा र महिलाको आर्थिक सशक्तीकरण, दुर्व्यसनमुक्त समाज निर्माणमा पहल, सहकारी प्रबर्द्धन, थारु तथा अवधी भाषा संरक्षण गर्दै स्थानीय पाठ्यक्रममा संलग्न गराउन पहलकदमी लिने, थारु पर्यटन प्रबर्द्धन केन्द्रको बिकास गर्ने, दलित मधेसी मुस्लिम जनजाति गरिब र बिपन्न युवालाई प्राविधिक र उद्धमशिलतासँग जोड्नुका साथै स्वरोजगारका कार्यक्रममा प्राथमिकता दिने सङ्कल्प पत्रमा उल्लेख छ ।

सद्भाव र सुशासनका लागि शान्ति र सहकार्यको वातावरण निर्माण गर्ने, सदनमा उठाउने मुद्दा संवाद मार्फत तय गर्ने, मासिक रिपोर्ट कार्ड प्रस्तुत गर्ने, नागरिक सहभागीतामूलक बजेट विनियोजन गर्ने र भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने प्रतिबद्धता जनाइएको छ ।

व्यवसाय प्रबर्द्धनतर्फ व्यापार सहजीकरण र व्यापारमैत्री नीति निर्माण, चाकरचौडा भंसारमा सवारी आवागमन खोल्न भंसार सुबिधाका लागि नीतिगत पहल गर्ने, यातायात व्यवस्था सेवा कार्यालयमा लाइसेन्स र सवारी नामसारीको सेवा बिस्तारका लागि पहल कदमी लिने उल्लेख छ ।

प्रस्तुत गरिएको सङ्कल्प पत्रमा नीतिगत र कार्यक्रमगत दुवै विषयलाई प्राथमिकता दिइएको देखिएको छ । सङ्कल्प पत्र प्रस्तुत गर्दै उम्मेदवार कमालले आफूले बिगतमा लिएको अनुभवकै आधारमा सङ्कल्प पत्रमा पूरा गर्न सक्ने र पूरा गर्ने विषयहरू मात्रै राखिएको बताए ।

केन्द्रको भिजन टेनलाई आधार बनाई क्षेत्रमा समेत भिजन सेवेनको सङ्कल्प पत्र ल्याइएको उनले बताए ।

पार्टीले सङ्कल्प पत्रका प्रत्यक विषयलाई कार्यान्वयनमा प्राथमिकता दिने जनाउदै सबैलाई एकबद्ध भएर प्रचार प्रसारमा खटिन नेपाली कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्तिसिंह ठकुरीले आग्रह गरेका छन् ।

Published : Monday, 2026 February 23, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया