वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले सोमबार बिहान ०९ः४५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ । वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई समूहबीच सवारी साधनलाई राख्ने विषयमा आइताबर विवाद भइ झडप भएपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रशासनले कफ्र्यु लागू हुने क्षेत्रको चार किल्ला समेत स्पष्ट पारेको छ । पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कफ्र्यु लगाइएको छ ।

कफ्र्यु आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ ।

एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइनेछ । सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने सूचनामा भनिएको छ ।

पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती थपेको र सामाजिक सद्भावमा आँच आउन सक्ने सम्भावना देखिएपछि प्रशासनले फर्फ्यु लगाउने निर्णय लिएको छ ।

Published : Monday, 2026 February 23, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया