आयोगसँग अनुमति लिएर प्रचारमा मुख्यमन्त्री पाण्डे, कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट भएका कामलाई सुनाउँदै गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेसलाई विजयी बनाउन अपील गरेका छन् ।
मुख्यमन्त्री पाण्डे निर्वाचन आयोगबाट अनुमति लिएर गृहजिल्ला गोरखाका चुनावी कार्यक्रमा सहभागी भएका छन् । पाण्डेले कांग्रेसले गरेका काम देखाएर मतदाताहरूसँग भोट मागेका हुन् । उनले कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका छन् ।
उनले भने, ‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ । तपाईंहरूको सबै माग पूरा भयो त म भन्दिनँ, धेरै भएको छ ।’
पाण्डेले गोरखामा मात्र नभई प्रदेशभर आफ्नो नेतृत्वमा धेरै काम भइरहेको बताएका छन् । उनले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले भने, ‘धेरै साथीहरूको रुखमा भोट हाल्न पाइएन भन्ने गुनासो पनि अहिले हटेको छ, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी उमेदवार हुनुहुन्छ ।’
गोरखा २ (२) बाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताएका छन् । उनले भने, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ ।’
नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ ले आयोजना गरेको पालिकास्तरीय चुनावी सभामा सहभागी हुन फागुन ५ गतेदेखि १० गतेसम्म गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डे गोरखामा छन् ।
नेपाली कांग्रेसले गोरखा २ मा प्रकाशचन्द्र दवाडी र १ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ । गोरखा १ का अगुवा नेता, कार्यकर्ता र उम्मेदवारसँग पनि मुख्यमन्त्री पाण्डेले भेटघाट गरेर चुनावी रणनीतिबारे अन्तरक्रिया गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया