रौतहटको घटनापछि गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल

काठमाडौं । रौटहट घटनापछिको अवस्थाका बारेमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समसामयिक सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको छ । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकपछि गृह मन्त्रालयले सबै धर्म र समुदायबीच संहिष्णुता, सद्भाव र पारस्परिक सम्मान कायम राख्न अपील गरेको छ ।

बैठकले रौतहट, दाङलगायत तराई एवं मधेशको केही जिल्लामा धार्मिक संहिष्णुता तथा सद्भावमा गम्भीर असर पु¥याउने, धार्मिक एवम् सामाजिक सद्भाव खल्बलाउने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउने लगायत कानूनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक सद्भाव र मर्यादामा आँच पु¥याउने जस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयकी सहप्रवक्ता उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी विज्ञप्तिमा विभिन्न धर्म, जातजाति, वर्ग वा समुदायबीच द्वेष फैलाउने तथा हिंसात्मक गतिविधि दुरुत्साहित गर्ने कार्य कानुनअनुसार दण्डनीय रहेको उल्लेख छ ।

गृह मन्त्रालयले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी राखी दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही भइरहेको जनाएको छ ।

रौतहटको गौरमा दुई समूदायबीच भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

Published : Saturday, 2026 February 21, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया